काठमाडौं । नेपाल प्रहरीले शुक्रबार ७३ प्रहरी नायव निरीक्षक(सई)लाई प्रहरी निरीक्षक(इन्स्पेक्टर)मा बढुवा गरेको छ । आइजीपी ठाकुर ज्ञवालीले अडान लिन नसकेकै कारण बरिष्ठता र कार्यसम्पादनको आधारमा भन्दा पनि भीभीआइपीदेखि भीआइपीहरुको सुरक्षामा खटिएका पीएसओहरु बढुवामा परेको गुनासो प्रहरीमा छ । प्रहरीको बढुवामा संगठन प्रमुखले मूल्यांकन गरी बढुवा गर्ने परिपाटी स्थापित गर्न नसकेको र राजनीतिक हस्तक्षेप बढाएको आरोप आइजीपी ज्ञवालीमाथि लागेको छ । बरिष्ठ सईहरुलाई इन्स्पेक्टर बढुवा नगरी पहुँच हुने भीआइपीहरुका बडीगार्डहरुलाई मात्र गरिएको छ । उनीहरुलाई प्रहरी नियमावली २०७१ अनुसार बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एआईजी शैलेश थापा सदस्य सचिव रहेको बढुवा समितिले गृहमन्त्री र गृहसचिबका जुनियर पिएसओहरुलाई सिफारिस गरेर सिनियर सईहरुको मानमर्दन गरेको छ ।
इन्स्पेक्टर बढुवा सिफारिसमा राम्रो काम गर्ने र पुरस्कार पाएकाहरु छुटेका छन् । बढुवा सिफारिसमा २०६० र २०६१ सालमा सई बनेका झन्डै ५० जना छुटेका छन् भने २०६२ मा सई बनेका ८ जनालाई राजनीतिक दबाबमा इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ । जसका कारण प्रहरीमा ठूलो असन्तुष्टि छाएको छ ।
इन्स्पेक्टर बढुवा सिफारिसमा गृहमन्त्री रामबहादुर थापाका पीएसओ राजनप्रसाद तिमिल्सिना र गृहसचिवका पिएसओ महेश केसी पर्न सफल भएका छन् । दुबै जना २०६२ भदौमा सईमा बढुवा भएका थिए । त्यसैगरी २०६२ कै सईहरु शरण महर्जन, हरि भट्टराई, उत्तमसिंह भण्डारी, टुपेन्द्र श्रेष्ठ, बबिन्द्र नेम्वाङ र टंकवहादुर श्रेष्ठको नाम पनि इन्स्पेक्टर बढुवामा सिफारिस भएको छ । आइजीपी ज्ञवालीका सचिवालयको घुमुवा रमेशप्रसाद तिमिल्सिना पनि इन्स्पेक्टर बढुवामा परेका छन् । एसपी भूपेन्द्र खत्री आइजीपी सचिवालयमा आएपछि उनलाई घुमुवा बनाएर परिचालन गरेका छन् । महानगरीय ट्राफिक महाशाखाबाट खत्रीले उनलाई सचिवालयमा लगेका हुन् ।
स्रोतका अनुसार शरण महर्जनको बढुवाका लागि बालुवाटारबाट प्रधानमन्त्रीका स्वकीय सचिव राजेश ब्रजाचार्यको दबाब परेको थियो भने लोकमानसिंह कार्कीका पूर्व पिएसओ रहेका उत्तमसिंह भण्डारी पनि बढुवा सिफारिसमा पर्न सफल भएका छन् । बढुवा सिफारिसमा कतिपय कारवाही भोगेकाहरु पनि पर्न सफल भएका छन् ।
हेर्नुहोस् बढुवा हुनेहरुको सूची


