बिष्णुप्रसाद नेपाल र गोकर्णमणि दुवाडी
काठमाडौं । सरकारले सहसचिव विष्णुप्रसाद नेपाललाई सचिवमा बढुवा गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद बैकठले बरिष्ठ सहसचिव गोकर्णमणि दुवाडीलाई बढुवा नगरी तेस्रोे बरियताका नेपाललाई बढुवा गरेको हो । तीन सचिव पद रिक्त भए पनि एकमात्र पदमा बढुवा गरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै पदमा बढुवा गर्नू भने पनि मुख्यसचिव लोकदर्शन रेग्मीले नेपालको नाममात्र सिफारिस गरिएको बहाना बनाएर एकमात्र पदमा बढुवा गरिएको छ । दुवाडी बरिष्ठ सहसचिव हुन् ।
महेशप्रसाद दाहाल शिक्षा मन्त्रालयको सचिवबाट बैशाख १९ मा अवकाश भएपछि बढुवा समितिले तीन सहसचिवको नाम सिफारिस गरेको चर्चा भएको थियो । समितिले रिक्त सचिवका लागि वरिष्ठताका आधारमा सहसचिवहरु गोकर्णमणि दुवाडी, मान बहादुर बिक र विष्णु नेपालको सिफारिस गरेकोमा तेस्रो बरियताका नेपाल बढुवा भएका छन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवबाट दुवाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा ल्याएर राखिएको छ । र, बरिष्ठतामा पहिलो नम्बरमा रहेका उनलाई बढुवा नगरी बिष्णु नेपाललाई गरिएको छ । नेपाल आगामी चैतमा अवकाश हुँदैछन् । उनलाई १० दिनअघि सचिव बनाउन खोज्दा सरकारले बरिष्ठ सहसचिवको अपमान गरी प्रशासन क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेको सन्देश गएको छ । दुवाडी खुल्लाबाट सचिव भएकाले उनको अवधि लामो छ । तर पनि बरिष्ठतालाई मिचेर सरकारले उनीमाथि अन्याय गरेको छ ।
दुवाडी भूमिब्यवस्था तथा अभिलेख विभागको महानिर्देशक हुँदा अर्थमन्त्री डा.युवराज खतिवडाले एक राजपत्रअनंिकत कर्मचारी सरुवा गर्नका लागि दिएको निर्देशन अटेर गरेको आरोपमा उनको बढुवा रोकिएको स्रोत बताउँछ । यद्यपि ती कर्मचारी सरुवामा उनले आर्थिक लाभ खोजेको भन्ने आरोप पनि लगाइएको छ । यसका अलावा मुख्यसचिव रेग्मी पनि उनीसँग असन्तुष्ट भएकाले अर्थमन्त्री खतिवडाको निर्देशनमा उनलाई बढुवा नगरी नेपालको बढुवा गरिएको स्रोत बताँउछ ।
कतिपयले भने भूमि ब्यवस्थापन विभागको महानिर्देशक हुँदा मनोज पाण्डेलाई २० लाखको डकुमेन्ट्रीको काम नदिएबापत बढुवा नगरी कोपभाजनमा पारिएको पनि भन्ने गरेका छन् । मनोज पाण्डे नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाउँथे । जुन कार्यक्रमको ब्यापक आलोचनापछि गतबर्षबाट बन्द भएको छ । पाण्डे प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालका नाताले भान्जा हुन् ।