ललितपुर, २२ जेठ । ललितपुरको खुमलटार स्थित युलेन्स स्कुलले वैशाखदेखि असारसम्मको शुल्क तिर्न बाध्य बनाएको भन्दै बालबालिकाका अभिभावकहरु असन्तुष्ट बनेका छन् । साथै ’इमर्जेन्सी फन्ड’ लगायत विभिन्न वहानामा बढी शुल्क असुल्दै आएको एक अभिभावकले जनाए ।
नाम नबताउने शर्तमा उनले अन्नपूर्णलाई भने, ’चैत्रको पूरै शुल्क लिए । वैशाखदेखि असारसम्मको २० प्रतिशत घटाएर मागेका छन् । भोलिसम्ममा पैसा बुझाउनु भनिएको छ ।’
उनका अनुसार स्कुलले महिना दिनदेखि दैनिक डेढ घण्टा अनलाइन कक्षा लिंदै आएको छ । इमर्जेन्सी फन्डको रुपमा उठाएको पैसाले शिक्षकलाई ल्यापटप खरिद गर्ने स्कुलले जानकारी गराएको उनको भनाइ छ । सरकारले चैत्र महिनाको शुल्क मिनाहा गर्न निर्देशन गरेको छ । शैक्षिक सत्र सुरु नभइ शुल्क मागेको भन्दै अभिभावकहरु सामुहिक रुपमा मुद्दा हाल्ने तयारीमा छन् ।
विद्यालयका अनियमितता अनुगमन तथा नियमनको जिम्मा पाएको स्थानीय तहले यस्ता समस्या समाधान गर्न नसकेको अभिभावकको आरोप छ । तर ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख महेन्द्र क्षेत्रीले यस्ता अनियमितताको विषयमा उजुरी नआएको बताए । ’पहिला एउटा स्कुलको आएको थियो, पैसा फिर्ता गर्न लगायौं’, क्षेत्रीले भने, ’युलेन्सको विषयमा कुनै जानकारी आएको छैन।’ कहिलेकाही विद्यालय र अभिभावकबीच भएको सहमतिले समस्या पार्न सक्ने उनले बताए । तर,मन्त्रालयबाट कुनै निर्देशन नआइ कसैलाई शुल्क तिर्न बाध्य बनाउन नमिल्ने बताए । हाल सम्पूर्ण शैक्षिक सस्था औपचारिक रुपमा बन्द रहेकाले यस्ता स्कुलविरुद्ध आएको उजुरीको आधारमा उनीहरुसँग थप बुझ्ने जनाए ।
उनका अनुसार बन्दाबन्दीको समयलाई बर्खे बिदामा रुपान्तरण गरेर निरन्तर कक्षा संचालन गर्ने विषयमा छलफल भइरहेको छ । कतिपय स्कुलले आठ कक्षाको नतिजा दिन नसकेको उदाहरण दिंदै उनले भने, ’सरकारको औपचारिक निर्देशन आइसकेको छैन, कसैले मनपरी गर्न पाउँदैन।’ आउँदो शुक्रबार शैक्षिक मुद्दामा निजी तथा सरकारी विद्यालयसँग बैठक बस्ने तय भएको क्षेत्रीले जनाए । उनले भने, ’पैसा नतिरेको वहानामा कुनै स्कुलले पनि विद्यार्थी निकाल्न पाउँदैन ।’ अन्नपूर्णपोष्ट दैनिकबाट