शनिबार मापदण्ड विपरीत नदी दोहन गरिएको खोला अनुगमन गर्दै टोली ।
बारा, १७ जेठ । जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलसँग सेटिङ गरी ठेकेदारहरुहरुले बालगंगा, दुधौरा र पसाह गरी तीनवटै खोला मापदण्डबिपरीत उत्खनन् गर्ने कार्य गर्दैआएका छन् ।
मापदण्ड बिपरीत मेसिन लगाएर ढुंगा, बालुवा, गिटी र ग्राभेल उत्खनन् गरेको भेटिएपछि प्रहरीले स्काभेटर र टिपरहरुलाई शनिबार नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित, बाराका प्रहरी उपरीक्षक कृष्ण पँगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदी लगायतका सुरक्षा निकायका प्रमुखहरुहरुलाई लिएर अनुगमन गर्न खोलाहरुमा पुगेका जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंहको नेतृत्वको टोलीले चार वटा स्काभेटर र एक दर्जन टिपरहरुलाई नियन्त्रणमा लिएको छ ।

मेयर कृष्ण पौडेल र ठेकेदार लालबहादुर श्रेष्ठ
चुरेबाट बग्ने तीनवटै खोलाबाट स्काभेटर लगाएर नदीजन्य पदार्थको उत्खनन् गर्न दिई ठेकेदारहरुसँगबाट आएको नाफाबाट नगर प्रमुख पौडेलले आधा रकम घुस लिने गरेको आरोप छ । स्काभेटर प्रयोग गरी जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रका ती खोलानालाहरुबाट नदीजन्य पदार्थको दोहन कार्य हुँदैआएको छ । जबकि स्काभेटर प्रयोग गर्न नपाउने प्रावधान छ । तर नियमबिपरीत ठेकेदारहरुले स्काभेटर प्रयोग गर्दैआए पनि उपहानगरपालिकाका मेयर पौडेलले आँखा चिम्लने गरेका छन् । दुधौरा खोलाको ठेक्का सकार गरेका सिमराका श्रेष्ठ बिल्डर्सका संचालक लालबहादुर श्रेष्ठले नगर प्रमुख पौडेलसँग साँठगाँठ गरी करोडौंको नदीजन्य पदार्थ बिक्री बितरण गर्दैआएका छन् । दुधौरा खोलाबाट लगभग २७ लाख दुई हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन् गर्न ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का सकारेका थिए श्रेष्ठले । तर श्रेष्ठले ठेक्का सम्झौता भन्दा बढी क्युफिट नदीजन्य पदार्थ उत्खनन् गरी बिक्री र स्टोर गरेका छन् । जितपुर सिमरा नगरपालिकाका मेयर कृष्ण पौडेलसँग ठेकदारहरुबाट प्रभावित भई मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् गर्न दिएकोबारेमा प्रतिक्रियाका लागि शनिबार पटक पटक प्रयास गर्दा पनि उनले मोवाइल रिसिभ गरेनन् ।
यसैगरी २०७६ माघ १५ गते प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण(आईईई) विपरीत उत्खनन् गरिएको भेटिएपछि जिल्ला समन्वय समिति प्रमुख र बाराका तत्कालीन प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले स्काभेटर र टिपर नियन्त्रणमा लिएका थिए । र, ठेकेदारहरुलाई मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगाएपछि सिमरा–जितपुर उपमहागरपालिका, कोल्ही नगरपालिका र निजगढ नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका खोलाहरुमा लगाएको नदीजन्य पदार्थको उत्खनन् नियम विपरीत गराउने र बढी उत्खनन् गराएमा प्रशासनले कारबाही गर्नसक्ने लिखित सहमति गरेको जिल्ला समन्वय समिति बाराले जनाएको छ ।
त्यो लिखित सहमति उल्लंघन गर्दै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले स्काभेटर प्रयोग गरी तोकिएकोभन्दा बढी क्युफिट नदीजन्य पदार्थ उत्खनन् गर्न छुट दिएका छन् । नगर प्रमुखले नै ठेकेदारहरुसँग मिलोमतो गरेर मापडण्ड बिपरीत खोलानालाको उत्खनन् गराएको सूचना पाएपछि सुरक्षा निकाय प्रमुखहरुलाई लिएर जिल्ला समन्वय समितिका प्रमुख सिंह खोलाहरुमा अनुगमन गर्न बाध्य भएको बताइएको छ । स्थानीय निकायहरुको अधिकार क्षेत्रमा रहेका खोलानालामा ठेकेदारले नियमबिपरीत उत्खन्न गर्न एक्लै नसक्ने र यसका लागि स्थानीय निकायको समेत मिलोमतो देखिएको सिंहले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंहले बालगंगा, दुधौरा र पसाह गरी तीनवटै खोलाहरुमा मापदण्डविपरीत उत्खनन् गरेको देखिएपछि स्काभेटर र टिपरहरु गरेर १५ वटालाई नियन्त्रणमा लिएको बताएका छन् । स्काभेटर र टिपरहरुलाई नियन्त्रणमा लिएर साँचो राखिएको र आइतबार नदीजन्य पदार्थको उत्खनन् सम्बन्धी जिल्ला अनुगमन समितिको बैठक गरेर जरिवानाको निर्णय गरिने सिंहले बताए ।
मापदण्ड बिपरीतको उत्खनन्ले खोला क्षेत्रको वन, बस्ती जोखिममा पर्नुको साथै र नदीहरुले धार समेत परिवर्तन गर्ने डर भएपछि ठेकेदारहरुलाई नियम अनुसार नै खोलानालाहरुबाट नदीजन्य पदार्थ उत्खनन् गर्न भनिए पनि उनीहरु अटेरी गर्दै आएको जिल्ला समन्वय समितिका प्रमुख सिंंहले बताएका छन् ।