काठमाडौं । सरकारले भारतका नेपालीलाई स्वदेश ल्याउने भएको छ । भारतबाट नेपालीको ठूलो संख्या सीमाबाट अनियन्त्रित रुपमा भित्रिरहेको छ । जसका कारण कोरोना भाइरस संक्रमण बढेको बढ्यै छ । देशका सबै सीमा नाकामा सुरक्षाकर्मीले निगरानी बढाएका कारण अहिले भारतबाट भित्रिनेहरुले चोरबाटो समेत प्रयोग गरिरहेका छन् । रािित राति खुला सीमाबाट नेपाल भित्रने क्रम जारी छ ।
यसरी भित्रनेहरुका कारण देशका ५० जिल्लामा कोरोना भाइरस संक्रमितहरु देखिसकेका छन् । भारतबाटै आएकाहरुका कारण १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, ५ नम्बर र सुदूर पश्चिम प्रदेशमा कोरोना संक्रमण दिन दुई गुण रात चौगुणाका दरले बढिरहेको छ ।
यही खतरालाई मूल्याङ्कन गर्दै सरकारले अब लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई २० वटा नाकाबाट आउन पाउनेगरी खुला गरेको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज शुक्रबार बसेको बैठकले देशभर विभिन्न २० वटा नाका तोकेको हो । जसमा पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मंगलवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला रहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन् ।
‘यो नाकाहरुबाट प्रवेश गराउने निर्णय कार्यान्वयन छिट्टै ल्याइने छ,’ सचिव बिडारीले भने । निश्चित नाका तोकिदिंदा संक्रमणको जोखिम कम गर्न सकिने निष्कर्षसहित भारतबाट स्वदेश फर्किनेहरुका लागि नाका नै तोकिएको जनाइएको छ । सरकारले भारत हुँदै तेस्रो देशको नागरिकलाई नेपाल प्रवेश गर्न लकडाउन सुरु हुनुअघिदेखि नै रोकिरहेको छ । २० नाकाबाट भित्रने नेपालीलाई क्वारेन्टिन गरी परीक्षणपछि मात्र आ आफ्नो घर पठाउने योजनामा सरका छ ।