काठमाडौ,१५ जेठ । हिजो बुधवार थप २८ जनाले नेपालमा कोरोनाको सङ्क्रमण जितेर घर फर्केका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल डिस्चार्ज हुनेको संख्या १८३ पुगेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । हिजो बुधवार मात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । डिस्चार्ज हुनेमा नारायणी अस्पतालबाट २१ जना, कोशीअस्पतालबाट ४ जना र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना गरि कुल २८ जना डिस्चार्ज भएका छन् ।हिजो कोरोनालाई जितेर घर फर्किनेमा डेढबर्षका बालकदेखि ६२ बर्षीय उमेर समुहका ब्यक्तिहरु छन् ।
हालसम्म डिस्चार्ज हुनेमा प्रदेश एकमा ३० जना, प्रदेश दुईमा ९७ जना, बाग्मती प्रदेशमा ११ जना , गष्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर पाँचका ३८ जना , सुदुरपश्चिम प्रदेशका ५ जनासहित जम्मा १८३ जना छन् ।