Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • निर्वाचन आयोगमा आज जसपा नेताको ‘हेड काउन्ट’, संख्या जोगाउन रिसोर्टमा ‘थुनिए’ सांसदहरु


    सोमबार, साउन ११ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् ।

    आयोगले आज पार्टीको आधिकारिकता टुंगो लगाउने भएपछि अध्यक्ष यादवपक्षीय नेताहरू गोदावरी रिसोर्टमा जम्मा भएर बसेका छन् । अर्का अध्यक्ष ठाकुर पक्षले प्रलोभन देखाएर सदस्य तान्न सक्ने भन्दै यादव पक्षले आफ्ना सदस्यलाई रिसोर्टमा राखेको बुझिएको छ।

    तर, जसपामा आफ्नै समूहका नेतामाथि अविश्वास बढ्दा रिसोर्टमा पुर्याउने नयाँ अभ्यास नै शुरु भएको छ । यसअघि तत्कालीन केपी ओली सरकारमा जाने निर्णय गरेको महन्थ खेमाका सांसदहरुलाई एमाले नेता महेश बस्नेतको तारतम्यमा भक्तपुरको एउटा रिसोर्टमा दिनभर थुनेर राखिएको थियो । अहिले उपेन्द्र पक्षले पनि त्यही शैलीलाई पच्छ्याउँदै नेताहरुलाई रिसोर्टमा पुर्याएको बताइन्छ ।

    आयोगले ‘हेड काउन्ट’ गरेर बहुमत रहेको पक्षलाई आधिकारिकता दिने अनुमान गरिएको छ । यादव पक्षले भने आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ । तर, यादवपक्षीय  नेता डम्बर खतिवडाका अनुसार रिसोर्टमा केन्द्रीय कार्यकारिणी समितिका ३२ जना उपस्थित छन् । तीमध्ये १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसद छन् । केन्द्रीय कार्यकारिणी समितिमा नरहेका दुई सांसद भने उपस्थित रहेका छैनन् । 

    यता, आइतबार सर्वोच्च अदालतले जसपाका अर्का अध्यक्ष ठाकुर पक्षको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने सम्भावना बढेको देखिन्छ । जसपा अध्यक्ष ठाकुरले भने कार्यकारिणी समितिकै विवाद निरूपण नगरी आयोगले बहुमत र अल्पमत परीक्षणमा जाने निर्णय गरेको भन्दै त्यसविरुद्ध अदालतमा रिट दायर गरेका थिए । तर, न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि दुवै पक्षलाई साउन १५ गते बोलाएको छ। 

    फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानमा परेका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्ष बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर पक्ष अहिले आएर कमजोर भएको छ । 

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष  आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि सरकारमा जाने तयारीमा छ । जसपाको सत्तारोहणले प्रधानमन्त्री देउवालाई सरकार सञ्चालनमा राहत हुनेछ । यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । त्यसैले जसपाको आधिकारिकतासम्बन्धी विवादलाई सत्ता गठबन्धनका दलहरूले समेत चासोका साथ हेरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार