Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच विद्यार्थी संगठनद्वारा निगम निजीकरणको बिरोध, महाप्रबन्धक पौडेललाई तत्काल बर्खास्त गर्न माग


    शनिबार, असार २६ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पाँच विद्यार्थी संगठनले नेपाल वायुसेवा निगम निजीकरण गर्ने कार्यमा संलग्न महाप्रबन्धक डिमप्रकाश पौडेललाई बर्खास्त गर्न माग गरेका छन् । पाँच विद्यार्थी संगठनका नेताहरुले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका कर्मचारीलाई भेटेर छलफल गरेका थिए । छलफलपछि संयुक्त विद्यार्थी संगठनको तर्फबाट जारी विज्ञप्तिमा राष्ट्रिय ध्वजाबाहक निगमलाई  धरासायी बनाउने र निजीकरण गर्ने कार्यमा संलग्न महाप्रबन्धक पौडेललाई तत्काल बर्खास्त गर्न माग गरिएको छ ।

    पाँच विद्यार्थी संगठनले वायुसेवा निगमका कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न योजना ल्याउने, निगमलाई घाटामा लैजाने काममा संलग्न महाप्रबन्धकलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

    विज्ञप्तिमा उल्लेख छ–नेपाल वायुसेवा निगम ब्यवस्थापनले जहाज ग्राउन्डेड गर्ने, पूर्ण क्षमतामा उडान नगर्ने, नयाँ गन्तब्य खोजी नगर्ने, लकडाउनको समयमा पर्यटन मन्त्रालयले निजी क्षेत्रका जहाज उडाउन अनुमति दिने तर निगमका जहाज उडाउनै नदिने कारण घाटामा गएको छर्लङ्ग देखिएको छ । निगमलाई घाटामा लानका लागि पर्यटन मन्त्रालय र निगमका उच्चपदस्थ अधिकारीको मिलेमतो देखिएकाले तिनीहरु सबैलाई कडा कारबाही गर्न माग गर्दछौं ।

    निजी एयरलाइन्सका लगानीकर्ताहरुलाई निगमको बोर्ड सदस्य नियुक्त गरिएको छ । तिनीहरुले वायुसेवा निगमका सूचना चुहावट गर्ने, आफैं संलग्न वायुसेवालाई फाइदा पुग्ने काम गरेको पाइएकाले तिनीहरुलाई बोर्डबाट तत्काल बर्खास्त गर्न माग गर्दछौं ।

    विदेशी पाइलटलाई काम नगरीकन करोडौं तलव भत्ता दिइएको छ । नयाँ पाइलट उत्पादन गर्नका लागि कुनै तदारुकता नदेखाउने कारण नियोजित तरिकाले पाइलट अभाव सृजना गर्ने अपराधमा सामेल भएको प्रष्ट भएको छ । यो निगमलाई पाइलट विहीन बनाउने षडयन्त्र हो । नेपाली पाइलटलाई अवसर प्रदान गर्न माग गर्दछौं । 

    नेपालफेसले यसअघि नै महाप्रबन्धक पौडेलले निगम हिमालयन एयरलाइन्सलाई बिक्री गर्नका लागि सम्पूर्ण तयारी पूरा गरेको बिषयमा समाचार सार्वजनिक गरेको थियो । निगमको ८० अर्बभन्दा बढी सम्पत्ति भए पनि ५० अर्ब मात्र मूल्यांकन गराएका छन् । 

    नेपाल एयरलाइन्सको आन्तरिक उडानमा निजी एयरलाइन्सलाई फाइदा पुर्याउने हिसाबले सर्वसाधारणले सहजरुपमा टिकट काट्न नसकिने बनाइएको छ । मोवाइल एप्लिकेसनबाट यथाशीघ्र अनलाइन टिकट किन्ने ब्यवस्था गर्न माग गर्दछौं ।

    विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेका छन् ।

    पाँच विद्यार्थी संगठनद्वारा जारी प्रेस विज्ञप्ति 

    nac.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार