Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीपी प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्रीले गम्भीरता नदेखाएको विश्वप्रकाश शर्माकाे आरोप


    शुक्रबार, असार २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रधानमन्त्रीले गम्भीरता नदेखाएको बताएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत प्रधानमन्त्रीले प्रतिष्ठानको कुलपति हुनाको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु आफ्नो जिम्मेवारीप्रतिको गैरजिम्मेवारी हो भनी आरोप लगाएका छन् ।

     शर्माले भनेका छन्, ‘प्रधानमन्त्रीको जिम्मेवारीभित्र अनेकौं विषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुईमत छैन । तर त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो ।’

    कोरोना महामारीको बेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्ने कांग्रेसले बताएको छ । तर यसको हेक्का कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नहुनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिष्ठानभित्रका अनियमिता र अराजकताको ढाकछोप नभई उपचार गर्नुपर्ने आवश्यकता रहेकोमा कांग्रेसले जोड दिएको छ । ‘अनेकन बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएका छन् । ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी छ । प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पुर्‍याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न,’ प्रवक्ता शर्माले भने ।

    कांग्रेसले संवादमार्फत जायज माग सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चारजना पदाधिकारीको बहिर्गमनको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजले  २५ दिनदेखि प्रतिष्ठान परिसरमा आन्दोलन गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार