Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिनाको जेल सजाय


    बुधबार, असार १६ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जोहानेसबर्ग । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय गरेको छ । 

    अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै संबैधानिक अदालतले जुमालाई जेल सजाय तोकेको हो । संबैधानिक अदालतका न्यायाधीश सिसि खाम्पेपेले अदालतको निर्णय सुनाएका थिए ।

    अदालतले जुमालाई एन्कान्डला वा जोहानेसबर्गको प्रहरी चौकीमा पाँच दिनभित्र स्वयं उपस्थित हुन पनि आदेश दिएको छ । जुमाका निवास एन्कान्डला र जोहानेसबर्ग दुबै ठाउँमा रहेका छन् ।

    जुमाले प्रहरीमा स्वयं उपस्थित नभएर अटेर गरेमा दक्षिण अफ्रिकी प्रहरी मन्त्री भेकी सिलेले तीन दिनभित्र आवश्यक व्यवस्था गरी जुमालाई सुधार गृहमा पठाउन पनि आदेश दिएको छ । 

    पूर्वराष्ट्रपति जुमाले राज्य आयोगमा उपस्थित भएर बयान दिन अदालतले दिएको आदेश इन्कार गरेको भन्दै मानहानिको मुद्दा चलाइएको हो । सन् २०१८ मा गठन भएको यस आयोगले जुमा बिरुद्ध राज्यको शक्तिमाथि हस्तक्षेप गरेको, भ्रष्टाचार गरेको तथा राज्यका स्रोतसाधनको दुरुपयोग गरेको अभियोगमा छानबिन गरिरहेको छ । 

    गत फेब्रुअरीमा पनि जुमालाई आयोगमा उपस्थित हुन भनिएको थियो तर उनले उपस्थित हुन अस्वीकार गरेका थिए । आयोगका अध्यक्ष एवं न्यायाधीश रेमन्ड जोन्डोका कार्यहरु आफू विरुद्ध पक्षपातपूर्ण रहेको दाबी जुमाले गर्दै आएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार