काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएलगत्तै देशमा नयाँ प्रधानमन्त्रीको खोजी भएको छ ।
आज साँझ ९ बजेभित्र बहुमतको सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाउने समय छ ।
नेताहरु प्रधानमन्त्रीको कुर्सीका लागि लिगलिगे दौडमा छन् । हुनत नेताहरुबीच सहमति र सहकार्यको राजनीतिलाई फेरि सुरु गर्ने प्रयास भइरहेको छ ।
सहमतिको राजनीति सुरु गर्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरले बहुमतका लागि गृहकार्य गरिरहेका छन् ।
जसकाे निष्कर्ष अनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको प्रधानमन्त्री बन्ने सम्भावना देखिदैन ।
ओलीविरोधी गठबन्धनको बहुमत पुर्याउन नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनालनिकट २० प्रत्यक्ष निर्वाचित सांसदको राजीनामा आउने तयारी भइरहेको छ । तर, उपेन्द्र यादव पक्षमा कम्तिमा १४ सांसदकाे साथ बिना बहुमतकाे सम्भावना छैन ।
ओलीविरोधी गठबन्धनले बहुमत पुर्याउन सके नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्छन् ।
ओलीविरोधी गठबन्धनले बहुमत पुर्याउन नसके संविधानको धारा ७६ को उपधारा २ बाट प्रधानमन्त्री बन्ने सम्भावना टर्छ । राष्ट्रपति भण्डारीले त्यसपछि ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।
गठबन्धनले ओलीलाई रोक्न महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर कुरा मिलाउन सक्ने सम्भावना पनि उतिकै बलियाे देखिन्छ।
यसरी हेर्दा देशले यहि प्रधानमन्त्री पाउँछ भन्ने अवस्था छैन ।