काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प तयार गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनेबारे छलफल बढेको छ । ।
ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका केही नेताहरु देखिएका छन् ।
काँग्रेस नेता डा. शेखर कोइरालाले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका छन् ।
माओवादीका केही नेताहरुले पनि यसबारे छलफल बढाएका छन् । तर, प्रधानमन्त्रीको दौडमा रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले यसमा सकारात्मक जवाफ दिएका छैनन् ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धको पक्षमा उभिएका छन् ।
बहुमत पुर्याउन जसपाभित्र सत्ता समिकरणका लागि एकमत आवश्यक छ । त्यसका लागि महन्थ ठाकुरलाई मनाउनुपर्ने अवस्था छ ।
जसपा प्रधानमन्त्री ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ।
महन्थलाई प्रधानमन्त्री बनाउन देउवा र प्रचण्ड सहमत भए कुरा मिल्न सक्ने देखिएको छ । त्यस्तो अवस्थामा जसपाका ३२ सांसद नै बहुमतको सरकार गठनको पक्षमा उभिन सक्छन् । काँग्रेसको ६१ र माओवादीको ४९ सांसद जसपाको सांसद संख्यासँग जोडिदा १४२ भई बहुमत पुग्छ ।