Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमालेका २१ जना सांसदले राजीनामा दिए ओली सरकार ढल्छ कि रहन्छ ?


    बुधबार, बैशाख २२ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई किनारामा धकेल्नकै लागि बैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेका छन् । विश्वासको मत लिइसकेपछि आफूहरुमाथि झन् पेल्ने र सांसदबाटै निकाल्ने तयारीको सूचना पाएपछि माधव नेपालसहितका नेताहरु २७ गतेअघि नै सामूहिक राजीनामा दिने तहमा पुगिसकेका छन् ।

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित २१ जना सांसदले राजीनामाको तयारी गरेका छन् । विश्वासको मत लिनुअघि पार्टी एकताका लागि ओली तयार नभएमा राजीनामा दिने संकेत नेतृ रामकुमारी झाँक्रीले पनि गरेकी छन् । माधव नेपाल र झलनाथ खनाल पक्षधर प्रत्यक्ष निर्वाचित २१ जनाले राजीनामा दिएमा ओली सरकार ढल्छ त ? २१ जना नेकपा एमालेका सांसदले राजीनामा दिएमा एमालेसँग १ सय सांसदमात्र रहनेछन् । एमाले संसदमा सबैभन्दा ठूलो दल कायमै रहन्छ । तर, बहुमत सिद्ध गर्न प्रधानमन्त्री गाह्रो हुन जानेछ ।

    माधव नेपाल पक्षका २१ सांसदले राजीनामा दिएमा प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न १२३ सांसद भए पुग्छ । ओलीलाई बहुमतका लागि २३ सांसद आवश्यक पर्नेछ । काँग्रेस र माओवादी केन्द्र त आउने कुरै भएन, जसपाका पनि सबै सांसद ओलीको पक्षमा आउँदैनन् । जसपाको ३२ मध्ये २३ सांसद तान्न ओलीलाई निकै गाह्रो छ । किनकि लुम्बिनी प्रदेशको अविश्वास प्रकरणपछि जसपामा मोहम्मद इस्तियाक राईहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग टाढिन पुगेका छन् ।

    जनमोर्चाले ओलीलाई सहयोग नगर्ने स्पष्ट छ । नेमकिपाको मत ओलीले पाउने नपाउने प्रष्ट छैन । ओली सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री बन्ने ढोका पनि काँग्रेस, माओवादी र जसपाको उपेन्द्र–बाबुराम पक्षका कारण बन्द हुनेछ । 

    एमालेका २१ जनाको राजीनामाले प्रतिनिधिसभामा बाँकी हुने २४५ सिट संख्या मध्ये बहुमत अर्थात् १२३ पुग्न काँग्रेस र माओवादीलाई अर्को कुनै दलबाट १३ सिट भए पुग्छ । ३२ सिट रहेको जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षधरबाट त्यो संख्या पुग्न सक्छ । ओलीलाई रोक्ने यही गणितले माधव नेपाल पक्ष राजीनामा दिने मनस्थितिमा पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार