Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ‘मानवतस्करीका नाइकेदेखि गुण्डानाइकेसम्म मन्त्री, रेशम चौधरीलाई कहिले उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्रीज्यू ?’  


    शुक्रबार, बैशाख १७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा बिघटन गरेदेखि सरकार टिकाउन लोकतन्त्रका न्यूनतम मूल्य मान्यतालाई समेत कुल्चिंदैआएका छन् । २०५२ पछि खोभारी राय प्रवृत्ति मौलाएको थियो, जसले २०४६ मा जनताले लडेर ल्याएको प्रजातन्त्र १० बर्षमै बदनाम गरायो । २०५८ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा भंग गर्दा पनि जनता प्रतिरोधमा उत्रिएनन् । ओलीले अहिले गणतन्त्रको बदनाम गर्न कुनै कसर बाँकी राखेनन् ।

     ओलीकै सिको गर्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले रातो पासपोर्ट बिक्री गर्नेदेखि ठगीमा संलग्न अम्बिरबाबु गुरुङलाई १ बर्षअघि नै भौतिक पूर्वाधार राज्यमन्त्री हुँदै केही दिनअघि फूलमन्त्री बनाइसकेका छन् । पछिल्लो पटक शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता ठिकाउन हदैसम्म गिरेर गुण्डानाइके राजीव गुरुङ(दीपक मनाङ्गे)लाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् । अम्बिर गुरुङ र दीपक मनाङ्गेहरुलाई मन्त्री बनाएर ओलीले जनताको बलिदानबाट प्राप्त गणतन्त्रप्रति नै बितृष्णा जगाउने काम गरेका छन् ।

    दीपक मनाङ्गेलाई प्रहरीले कर्तब्यज्यानदेखि विभिन्न संगीन आरोपमा पटक पटक पक्राउ गरेको रेकर्ड छ । तर तिनै गुण्डानाइकेलाई ओलीका निकट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार टिकाउन मन्त्री बनाएका छन् ।

    १ नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्बिर गुरुङ मुख्यमन्त्री राईको सरकार गठनदेखि नै सांसद खरिदबिक्रीमा संलग्न पात्र हुन् । उनी ५० को दशकमा यति बदनाम थिए कि रातो पासपोर्ट बिक्री गर्ने, खुमबहादुर खड्का, पारस साहका अति निकट भएर उनीहरुबाट संरक्षित थिए । खुमबहादुर र पारसलाई चाहिने सबै उपलब्ध गराउने अम्बिर गुरुङले उपप्रधानमन्त्री इश्वर पोखरेललाई काठमाडौंमा घर उपहार दिएर ओखलढुंगाको प्रदेश क बाट टिकट पाएको जोकसैलाई पनि थाहा छ । प्रदेश सांसद भइसकेपछि एमालेका एक से एक दुःख पाएका सांसदलाई अवसर नदिई शेरधन राईले अम्बिरलाई मन्त्रीमा पुरस्कृत गरेका छन् ।

    हिजो राजतन्त्र, कांग्रेस शासनमा पासुपोर्टमा फोटो परिवर्तन(पीसी) गरी मानवतस्करी गर्ने र सुनदेखि सबै खालका अवैध काम गर्ने अम्बिर गुरुङ गणतन्त्र कालमा पुरस्कृत भएका छन् । अम्बिर गुरुङले बयोबृद्ध वामपन्थी नेता कृष्णराज बर्माका छोरासँग २ करोड रुपैयाँ ठगी गरेका छन् । ५ बर्षअघि नै लिएको उक्त रकम नतिरेपछि बर्माले प्रधानमन्त्री केपी ओलीसँगै भेटेरै गुनासो गरे । तर प्रधानमन्त्री ओलीले अम्बिर गुरुङले ठगेको रकम फिर्ता गराउन पहल गर्नुको साटो बेवास्ता गरेर पठाइदिएका छन् । बर्माले अम्बिरबाबुले लगेको रकम उठाउन धेरै ताकेता गरिसकेका छन् । गुरुङले बर्मालाई रकम दिनुको साटो उल्टै धम्की दिने गरेका छन् ।

    पूर्वसांसद तथा नेपाली कांग्रेसका युवानेता रामहरि खतिवडा भन्छन्–‘गणतन्त्र आउनुअघि बाहुबली जगत गौचन मन्त्री भएका थिए । गणतन्त्रमा ओली र उनको मुख्यमन्त्रीको टोलीले मानवतस्करी र ठगीका नाइके अम्बिर गुरुङदेखि गुण्डानाइके दीपक मनाङ्गेलाई समेत मन्त्री बनाए, अब टीकापुरमा ७ जनालाई भालाले रोपेर हत्या गर्ने रेशम चौधरीलाई जेलबाट छुटाएर उपप्रधानमन्त्री बनाएर ओली गणतन्त्र सिध्याउने डिजाइनमा लागेका छन् ।’

    Ramhari Khatiwada.jpg

    रामहरि खतिवडा

    ‘लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावमा सही गरेकै दिन तिनै सांसदलाई मन्त्री बनाएर सरकार टिकाउन ओली जुन तहसम्म पनि जान्छन् भन्ने देखाइसकेकै थिए । गण्डकी प्रदेशमा सरकार टिकाउन मसालका सांसद खिमबिक्रम शाहीलाई एमालेका प्रदेश सांसद राजीव पहारीको लगानी रहेको चरक अस्पतालमा अपहरण गरी आइसियुमा राखिएको छ, मसालकै सांसदलाई भेट्नबाट रोकिएको छ, यस्ता घटनाले गणतन्त्र नेपालको छवि कहाँ पुग्यो प्रधानमन्त्रीज्यू ।’ खतिवडाको प्रश्न छ, २ नम्बर प्रदेशको सरकारमा ओलीको केही चल्दैन, नत्र उहाँले संजय टक्लाहरुलाई जेलबाट छुटाएर सिधै मन्त्री बनाउनुहन्थ्यो होला ।

    सीके राउत र नेत्रबिक्रम चन्द विप्लव आइहाले, कमल थापालाई गणतन्त्रपछि नै ओलीले सरकारमा लगेकै हुन् । ओलीले वडा र नगरपालिकामा उम्मेदवार भई पराजीत भएकालाई राष्ट्रियसभामा लगेकै छन् । अब ओलीले गणतन्त्रलाई संस्थागत गर्न रेशम चौधरीलाई जेलबाट छटाई उपप्रधानमन्त्री बनाउन मात्र बाँकी छ । राजेन्द्र महतोहरु त उपप्रधानमन्त्री हुन खुट्टा उचालेकै छन् । विगतमा ६ जना उपप्रधानमन्त्री बनाएर ओलीले तमासा देखाएकै हुन् । अब  रेशम चौधरी, राजेन्द्र महतो, विप्लव, सीके राउतहरुसमेतलाई पनि उपप्रधानमन्त्री बनाएर उनले कीर्तिमान कायम गर्ने दिन धैर्यतापूर्वक नेपालीले हेरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार