Nepal Face
  • शनिबार, ६ मंसिर २०८३
  • प्रधानमन्त्रीको भारत भ्रमण अगाडि परामर्श नगरेकोप्रति कांग्रेसको असन्तुष्टि


    शनिबार, मंसिर ६ २०८३
    95
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भ्रमणमा उठाउनुपर्ने विषयमा सरकारले परामर्श नगरेकोप्रति आपत्ति जनाएको छ। कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै भ्रमण अघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्ष लगायत राजनीतिक दलहरूसँग परामर्श गर्ने हाम्रो स्थापित लोकतान्त्रिक परम्परा रहेको स्मरण गराएको हो।

    ‘मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमण अघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्ष लगायत राजनीतिक दलहरूसँग परामर्श गर्ने हाम्रो स्थापित लोकतान्त्रिक परम्परा हो। यस्तो सकारात्मक परम्पराको निरन्तरता वर्तमान सरकारबाट पनि अपेक्षित थियो। यही अपेक्षाका साथ नेपाली कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयहरूमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको थियो।’ विज्ञप्तिमा भनिएको छ। ‘जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्या लगायत विषयमा हामीले गत बुधबार बिषय बिज्ञहरुको सहभागितामा ञबिशेष आन्तरिक विमर्शझ गरेका थियौँ।’

    शर्माले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा सुदृढ बनाउन कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। नेपाली कांग्रेसले सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित नठानेको कांग्रेसको ठहर छ। विज्ञप्तिमा भनिएको छ,‘हाम्रो सम्बन्धका सम्भावना, अवसर र व्यवहारिक जटिलता बारे नेपाली कांग्रेससँग लामो संस्थागत अनुभव र स्पष्ट बुझाइ छ। यही आधारमा प्रधानमन्त्रीको भ्रमणलाई सकारात्मक बल पुर्‍याउने हाम्रो योजना र तत्परता थियो। तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल एवं विषय विज्ञहरूसँग परामर्श गर्न आवश्यक ठानेन। राष्ट्रिय महत्त्वको भ्रमण अघि राष्ट्रको साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिन समेत आवश्यक ठानेन। त्यसैले नेपाली कांग्रेसले पनि सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित ठानेन।’

    प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जाँदै गरेको विज्ञप्तिमा उल्लेख छ। ‘प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र होइन, सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जाँदै हुनुहुन्छ। राष्ट्रिय हितका विषयमा जति व्यापक परामर्श र साझा समझदारी निर्माण हुन्छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान त्यति नै बलियो हुन्छ, तर दुर्भाग्यवश यो गहिरो वास्तविकता सरकारले आत्मसात गर्न सकेन।’ विज्ञप्तिमा भनिएको छ,‘यद्यपि, सरकारको यस कमजोरीलाई हामी प्रधानमन्त्रीको भ्रमणको संभावित बिषयवस्तुसँग जोडेर हेर्न चाहँदैनौँ। सरकारसँग हाम्रो विविध असहमति हुन सक्छ, तर नेपालको राष्ट्रिय हित र मित्र राष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा हाम्रो प्रतिबद्धता प्रधानमन्त्रीको साथमा स्पष्ट र अटल छ। यो भ्रमणको सफलतासँग हाम्रो देशको सफलता गाँसिएको छ, अतः नेपाली कांग्रेस यो भ्रमणप्रति हार्दिक शुभेच्छा प्रकट गर्दछ।’

    कांग्रेसले प्रधानमन्त्रीको भ्रमण क्षणिक लोकप्रियता आर्जन गर्ने वा तात्कालिक प्रचारमा सीमित नबनोस् भन्ने कामना गरेको छ। विगतका प्रतिबद्धताहरुको कार्यान्वयन, विद्यमान समस्याहरुको ठोस निदान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माण गर्न यो अवसरको उपयोग हुन सकोस् र भ्रमण सार्थक बनोस्।’ विज्ञप्तिमा भनिएको छ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन आइतबार दिउँसो काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्न लागेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार