Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • नेपालफेसको समाचारप्रति सशस्त्र प्रहरी बलको खण्डन


    शुक्रबार, कार्तिक २८ २०८३
    25
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • उपरोक्त विषयमा नेपाल फेस डटकम अनलाइन पोर्टलमा मिति २०८३ कात्तिक २३ गते सोमबार ‘सशस्त्र प्रहरी महिला संघको तीन दिने देउसीभैलो, बीओपीदेखि गुल्म र गणपतिलाई दान जुटाउन गाह्रो’ शीर्षकमा प्रकाशित समाचारप्रति सशस्त्र प्रहरी बल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

    सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाको नाममा पठाइएको खण्डनमा उल्लेख छ–‘समाचारमा प्रकाशित भएजस्तो सशस्त्र प्रहरी परिवार महिला संघले देशभरका बीओपीदेखि गुल्म, गण, तालिम केन्द्र र वाहिनी इन्चार्ज सम्मलाई देउसी–भैलो वापतको चन्दा रकम तोकेर नै दिनुपर्ने उर्दी जारी नगरिएको स्पष्ट पारिन्छ । कुनै पनि युनिटलाई रकम तोकेर दिनुपर्ने गरी उर्दी जारी भएको भन्ने नितान्त कपोकल्पित, भ्रामक र संगठनलाई बदनाम गर्ने ढंगले प्रकाशित समाचारप्रति सशस्त्र प्रहरी बल नेपाल खेद व्यक्त गर्दछ ।

    स्थापनाकालदेखि नै सशस्त्र प्रहरी परिवार महिला संघले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको र यो एक गैरनाफामूलक संस्था भएको स्पष्ट छ । विगतदेखि नै संघले विभिन्न आयमूलक कार्य गर्दै पवित्र उद्देश्यले बाढी–पहिरो पीडित, गरिब, जेहेन्दार छात्रछात्रा, निम्नवर्गका व्यक्तिहरूका हितमा कार्य गर्दै आएको र यसका साथै कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले देउसी–भैलो खेल्ने परम्परालाई निरन्तरता दिने कार्यलाई संगठनको विरुद्धमा प्रचार गर्नु कुनै हालतमा पनि न्यायसंगत देखिँदैन ।

    समाचारमा प्रयोग गरिएका कतिपय पारिवारिक विषय र भाषा अत्यन्त तल्लोतरका र पत्रकारिताको सामान्य सिद्धान्त विपरीत रहेका छन् र देउसी–भैलोको नाममा कुनै पनि युनिटलाई जबर्जस्ती नगरिएको र नितान्त पारिवारिक वातावरणमा पर्व मनाउने संघको उद्देश्य रहेको छ ।

    महिला संघले गर्ने कुनै पनि कार्यमा व्यक्तिले उकासेको भन्ने र व्यक्तिगत लाञ्छना लगाउने कार्य मर्यादित पत्रकारिताभित्र पर्दैन । यस्तो कार्य परिवारभित्रका व्यक्तिको मानमर्दन गर्ने दूषित मनसायबाट प्रेरित भएको स्पष्ट देखिन्छ ।

    सशस्त्र प्रहरी परिवार महिला संघ छुट्टै संस्था भएकोले संघले गर्ने कार्यक्रमहरुमा सशस्त्र प्रहरी बलका युनिटहरुले सामान्य समन्वय र सहजीकरण मात्रै गरिदिने स्पष्ट गरिएको छ ।

    तसर्थ कपोकल्पित र भ्रामक समाचारले आम जनता र सकल दर्जामा समेत द्विविधा उत्पन्न हुने भएकोले यो खण्डन प्रकाशित गरिदिन हुन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार