Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • सर्लाहीका सीमावर्ती बीओपीमा असुली र तस्करीको आरोप, सशस्त्र प्रहरीका अधिकारीमाथि प्रश्न


    शुक्रबार, कार्तिक २८ २०८३
    185
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सर्लाही । सीमाक्षेत्रमा हुने चोरी, तस्करी तथा अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीका केही अधिकारीमाथि नै तस्करसँग आर्थिक लेनदेन गरी अवैध कारोबारलाई प्रश्रय दिएको आरोप लागेको छ । जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरीका पोस्टमा कार्यरत अधिकारीहरूको कार्यशैलीलाई लिएर स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ ।

    सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी ) सुन्दरपुर चौहर्वाका इन्स्पेक्टर डबल ऐडी तस्करीमा संलग्न व्यक्तिहरूसँग कथित रूपमा ‘महिनावारी’ रकम असुली गर्ने आरोपमा विवादमा तानिएका छन् । रकम बुझाएर काम सुरु गरेको भनिएकै पक्षको सामान पुनः नियन्त्रणमा लिएपछि विवाद बाहिर आएको हो ।

    नाम गोप्य राख्ने सर्तमा परिवर्तित नाम ‘सुनिता’ले नेपाल फेसलाई टेलिफोनमार्फत् यसबारे जानकारी गराएकी छन् । उनका अनुसार केही दिनअघि आफूले ‘लाइन’ बापतको रकम बुझाएर सामान ओसारपसारको काम सुरु गरेकी थिइन् । तर, महिना दिनसमेत नबित्दै सामान पुनः नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको उनले बताएकी छन् ।

    सुनिताको दाबीअनुसार, रकम बुझाएर काम सुरु गरेको केही दिनमै सामान नियन्त्रणमा लिइएपछि आफूले बुझाएको रकम र त्यसको औचित्यमाथि प्रश्न उठेको हो । उनले यस घटनालाई लिएर सम्बन्धित सुरक्षाकर्मीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

    यता, बीओपी त्रिभुवननगरमा कार्यरत सशस्त्र प्रहरीका सई रामएकबाल यादवमाथि पनि स्थानीयले गम्भीर आरोप लगाएका छन् । बिओपीका इन्स्पेक्टर बिदामा गएको समयमा सई यादवले लागुऔषध कारोबारीदेखि विभिन्न तस्करसम्मबाट रकम उठाएर तस्करीका गतिविधिलाई सहज बनाएको स्थानीयको आरोप छ ।

    स्थानीयले इन्स्पेक्टर बिदामा गएको समय सई यादवलाई ‘दशैं नै लागेको’ टिप्पणी गर्दै उनीमाथि आर्थिक लेनदेनमार्फत अवैध कारोबारलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।

    सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीमाथि नै यस किसिमका आरोप सार्वजनिक हुनुले सुरक्षा निकायको कार्यशैली, निगरानी र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ । यदि आरोपअनुसार सुरक्षाकर्मी र तस्करबीच आर्थिक लेनदेन हुने गरेको हो भने त्यसको निष्पक्ष छानबिन आवश्यक देखिन्छ ।

    यस विषयमा बीओपी सुन्दरपुर चौहर्वाका इन्स्पेक्टर डबल ऐडीसँग प्रतिक्रिया लिनका लागि सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । सई राम एकबाल यादवमाथि लागेको आरोपबारे उनीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

    सम्बन्धित सशस्त्र प्रहरी निकायले यी आरोपहरूको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ । सीमाक्षेत्रमा तस्करी नियन्त्रणको नाममा कुनै पनि किसिमको आर्थिक चलखेल भएको भए त्यसमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ । सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएमा समाचारमा समेटिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार