Nepal Face
  • सोमबार, २६ असोज २०८३
  • बुढीगण्डकी बाढीले धादिङका ७२ घरमा क्षति


    सोमबार, असोज २६ २०८३
    60
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। बुढीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ विशालनगरमा ठूलो क्षति पुर्‍याएको छ।

    बाढीले ७२ घरधुरीका भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने पक्की पुलसमेत बगाएको छ।

    आइतबार ९हिजो० बिहान आएको बाढीले धादिङको विशालनगर क्षेत्रमा रहेका पक्की तथा कच्ची घरहरूमा क्षति पुर्‍याएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रभावित ७२ घरधुरीमध्ये ५८ घरधुरी पूर्ण रूपमा क्षति भएका छन्। १४ घरधुरीका भौतिक संरचनामा सामान्य क्षति पुगेको छ। बाढीबाट कुल ३०८ जना प्रभावित भएको प्रहरीले जनाएको छ।

    बाढीले गोरखाको आरुघाट गाउँपालिका–९ नयाँपुलबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार जोड्ने पक्की पुल बगाएको हो। सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको र त्यसपछि बूढीगण्डकी नदीमा बाढी आएको प्रारम्भिक विवरणमा उल्लेख छ।

    बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीमा फसेका ६५ वर्षीय जितबहादुर माझीलाई बाढीका फसेको अवस्थामा सकुशल उद्धार गरेको छ।

    नुवाकोटको तारकेश्वर नगरपालिका–२ घर भएका माझी हाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ कछाडगाउँस्थित छोरीको घरमा बस्दै आएका थिए। उनलाई त्रिपुरासुन्दरी–१ देवीस्थानस्थित बाढीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

    बाढीबाट मानवीय तथा चौपायाको क्षति भएको छैन। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काको कमान्डमा ४५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

    बाढी प्रभावितमध्ये ३५ जना त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित चुलीदेवी माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार