काठमाडौं । प्रहरीले विवादास्पद व्यवसायी नवीनराज बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीमातहतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार राति भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । १३ बर्षअघिको रक्तचन्दन मुद्दामा उनलाई पक्राउ गरिएको सीआईबीले बताउँदैआएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएकाले बुधबार मात्रै उनको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले छापा मारेको थियो । तसर्थ पक्राउ पर्नुको कारण रक्तचन्दनको पुरानो मुद्दा मात्र नभएर चोलेन्द्रशमशेर र उनका भाइ प्रभुसँगको नेक्ससले पनि काम गरेको स्रोत बताउँछ । बुधबार बस्नेतसहित चोलेन्द्रका भाइ प्रभु र पूर्व न्यायाधीश नवराज थपलियाको निवासमा समेत छापा मारिएको थियो ।
अनुसन्धानका क्रममा बस्नेत १३ बर्ष पहिले (९ वैशाख २०७० साल) भएको रक्तचन्दन तस्करीका फरार व्यक्ति रहेको खुलेपछि उनलाई पक्राउ गरिएको खुलेको छ । १३ वर्षपछि अहिले ठेगाना खुलेको भनिएका बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग निकट रहेर काम गरेका ठेकेदार हुन् ।
कसरी दिइएको थियो बस्नेतलाई उन्मुक्ति ?
१८ चैत २०६९ काठमाडौंको गुह्येश्वरीबाट प्रहरीले २ सय २६ केजी रक्तचन्दन बरामद गरेको थियो । बा १ ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाएर गुह्येश्वरीबाट क्षेत्रबाट भक्क्तपुरतर्फ लैजाँदै गरिएको रक्तचन्दन जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको थियो । । रक्तचन्दनसहित बसचालक सिन्धुलीका भीमबहादुर सुनुवार र सहचालक सर्लाहीका खेमबहादुर सिंह पक्राउ पर्छन् । मोटरसाइकलबाट रक्तचन्दन बोकेको मिनीट्रकको अघिपछि गर्दै गइरहेका थिए । उक्त रक्तचन्दनका मालिक थिए, नवीनराज बस्नेत ।
काठमाडौं प्रहरी परिसर (तत्कालीन महानगरीय प्रहरी परिसर, काठमाडौं) प्रमुख थिए, राजेन्द्र श्रेष्ठ । नेकपा (एमाले) महेश बस्नेतमार्फत् रक्तचन्दनका मालिक नवीनराज बस्नेतलाई जोगाउने खेल हुन्छ । नवीनराज बस्नेत प्रहरीका परिसर प्रमुख राजेन्द्र श्रेष्ठकहाँ पुग्छन् । जिल्ला वन कार्यालयमार्फत् सुनुवार, सिंह र नवीन बस्नेतविरुद्ध मुद्दा दायर हुन्छ ।
९ वैशाख, ०७० मा जिल्ला अदालतले मुद्दाको फैसला गर्दै गाडीका चालक र सहचालकलाई जनही ६–६ महिना कैद र ३ लाख ६१ हजार ६ सय रुपैयाँ जरिवाना सुनायो । भाडाको गाडी पनि जफत हुने ठहर ग¥यो । रक्तचन्दन तस्करीको घटनामा चालक र सहचालकलाई कैद र जरिवाना भयो । तर प्रहरीले नवीनराज बस्नेतको स्थायी ठेगाना नखुलेको प्रतिवेदन लैजान्छ । र, उनलाई उन्मुक्ति दिइन्छ । अहिले सीआईबीले त्यही रक्तचन्दन केसमा बस्नेतलाई पक्राउ गरेको बताएको छ ।
बस्नेतलाई जहिल्यै छुट
खासगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सत्तामा आएपछि उनले एकपछि अर्को सेटिङ गरेका थिए । हालका एमाले सचिव महेश बस्नेत र ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका प्रिय भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग नजिकिएका थिए । बस्नेतले तीन बर्षअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्रको ट्याक्सी वे र एप्रोनको ठेक्का लिई काम गरेका थिए । यो ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीले पाएको थियो । बस्नेत त्यतिबेला क्षमादेवीमा आबद्ध थिए ।
बस्नेत अहिले महेश बस्नेत, राजेश बज्राचार्यका व्यापारिक साझेदार हुन् । राजेशकी बहिनीको नाममा उनले मार्टसमेत खोलिदिएका थिए । बस्नेत ओलीका यति प्रिय हुन् कि क्षितिज थेवे(सांसद र युवासंघका पूर्वअध्यक्ष), युवासंघका पूर्वउपाध्यक्ष गोविन्द थापाभन्दा बढी महत्व बालकोटमा बस्नेतले पाउने गरेका थिए ।
नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीले सबै विमानस्थलका अरबौं अरबका ठेक्का नवीन बस्नेतकै सेटिङमा दिने गरेका थिए । अधिकारी त अहिले एकपछि अर्को मुद्दा खेप्दै जेलमा छन् । प्रदीप अधिकारीका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका मुद्दा सामसुम गराउँछु भनेर जिम्मा लिई सेटिङमा ठेक्का लिने गरेका थिए । प्रहरीको अनुसन्धानमा क्यानका तत्कालीन डीजी अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउने जिम्मा लिएको देखिन्छ । जहाँ बस्नेतले राजेश बज्राचार्यमार्फत् ‘बा’ लाई भनेर अख्तियारबाट भ्रष्टाचारको केस मिलाउने आश्वासन अधिकारीलाई दिएका थिए ।
अख्तियार मिलाउने प्रयास असफल भएपछि बस्नेतले एकसाथ दुई वटा काम गरेका थिए । जसमा उग्रवादी संगठन खोलेर ज्यान मार्ने धम्की दिँदै अख्तियार प्रमुख प्रेमकुमार राईलाई राजीनामा गर्न लगाउनेदेखि तान्त्रिक प्रयोग गर्ने । उग्रवादी संगठनको लेटरप्याडसमेत बनाएर बस्नेतले नै अधिकारीलाई ह्वाट्सएपमा पठाएको देखिन्छ । डीएफएल (डीजिटल फरेन्सिक ल्याब) रिपोर्टअनुसार उक्त लेटर प्याड बस्नेतको मोवाइल नम्बरबाट ह्वाट्स एपमार्फत् प्रदीप अधिकारीलाई पठाएको खुलेको छ ।
उक्त फोटो ओरिजिनल पीडीएफ फाइलमा रहेको र पछि जेपीजी इमेजमा पीडीएफबाट एक्स्ट्र्याक्ट गरेको पाइएको एक अनुसन्धान अधिकृत बताउँछन् । यता, प्रहरीसँगको बयानमा भने बस्नेतले आफ्नै ह्वाट्स एपबाट पठाएको लेटर प्याडका बारेमा समेत थाहा नभएको जिकिर गर्दै बयान दिएका छन् ।
यही लेटर हेडमार्फत् एक सूचना निकाल्दै प्रकाश पाठकले अख्तियार प्रमुखसमेत १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए । तत्काल राजीनामा नदिए ज्यान मार्ने धम्की पाठकले भिडियोमार्फत् नै दिएका थिए । यसरी धम्की दिन लगाउन पाठकलाई २ करोडको सुपारी दिएकोसमेत पाइएको छ । सुरुमा १० करोडबाट बार्गेनिङ भएको २ करोडमा कुराकानी मिलेपछि पाठक धम्की दिन तयार भएका थिए ।
स्रोतका अनुसार २ करोड बस्नेतमार्फत् अधिकारीले पाठकलाई दिएका थिए । यी सबै तथ्यहरु भेटिदा समेत प्रहरीले बस्नेतलाई उच्चपदस्थलाई मार्ने धम्की दिएको मुद्दामा छुट दिएको थियो ।
रास्वपा आएपछि बेनको नाममा चलखेल
एकपछि अर्को मुद्दा र अपराधमा उन्मुक्ति पाउँदै आएको आरोप खेपिरहेका नवीनराज बस्नेतले पछिल्लो समय प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसँग आफ्नो कुरा मिलिसकेको दाबी गर्न थालेका छन । उनले बेनसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको दाबी गर्दै आफूनिकटका व्यक्तिहरूलाई कुनै चिन्ता लिनुनपर्ने बताउन थालेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार बस्नेतले बेनसँग राम्रो सम्बन्ध भएको भन्दै केही ब्यक्तिहरुलाई बेनकोमा समेत लगेर भेट्टाएका थिए । त्यसो त बस्नेतले रास्वपाका सांसद दीपक बोहरालाई चुनावमा सहयोग गरेको र निकिता पौडेललाई पनि भेटेको दाबी गर्दैआएका थिए ।
नवीन बस्नेतः बाणिज्य बिभागको आयात अनुमति नक्कली बनाउँथे
नवीनराज बस्नेतले २०७० को दशकदेखि केराउ, पोस्तादाना र छोगडाको आयातको कोटा सेटिङमा लिने गरेका थिए । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट केराउ, पोस्तादाना र छोगडाको कोटा लिन बस्नेतमार्फत् नै जानुपर्ने बनाएका थिए । केपी ओली प्रधानमन्त्री हुँदा त बाणिज्य बिभागले बस्नेतमार्फत् मात्र आयातको कोटा दिने गरेको थियो । बाणिज्य बिभागको महानिर्देशकमा कुमारप्रसाद दाहाल आए । उनी आएपछि अनुमति नै नदिए पनि भन्सार कार्यालय बीरगंजबाट केराउ आयात भएको र क्वारेन्टाइनमा गएको सूचना पाए ।
अनुमति नै नदिएको केराउ कसरी आयात भयो भन्ने बिषयमा जानकारी लिने क्रममा बीरगंज भन्सारमा महानिर्देशक दाहालकै कीर्ते हस्ताक्षर गरी कीर्ते अनुमति बनाएको पत्र फेलापारे । त्यसपछि उनले तत्कालै उक्त कीर्ते अनुमतिपत्रका आधारमा आयात भएको केराउसहित अरु केही सामान जफत गर्न भन्सार कार्यालयमा पत्राचार गरे । आयातकर्तालाई पक्राउ गरी थुन्न निर्देशन दिए ।
बाणिज्य बिभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालको कीर्ते हस्ताक्षर र विभागको नक्कली छापको प्रयोग गर्दै ५ हजार टन केराउ र काठमाडौं कुलेश्वरका व्यवसायी रमेशकुमार जलानले विभागका शाखा अधिकृत प्रह्लाद सापकोटाको कीर्ते हस्ताक्षर र विभागको नक्कली छाप प्रयोग गरी ५ हजार टन पोस्तादाना आयातको अनुमतिपत्र बनाएका थिए ।
सत्यम् एग्रो र जलानले एसएस एन्ड सन्स नामको कम्पनीबाट आयात गर्नेगरी नक्कली अनुमतिपत्र तयार पारेको प्रमाण दाहालले फेलापारे । सत्यम् एग्रोका नामबाट ३० लाख मूल्यको ३० टन केराउ ल्याएपछि कीर्ते अनुमतिपत्र बनाउने अरु कोही नभएर नवीनराज बस्नेत नै भएको खुल्यो ।
महानिर्देशक दाहालले कडा ढंगले कारबाही गर्ने भएपछि नवीनराज बस्नेतकै सेटिङमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई समावेशी आयोगमा सरुवा गरेका थिए । दाहालले पोस्तादाना र केराउको अनुमति नदिने भएपछि नवीन बस्नेतले कीर्ते आयात अनुमतिपत्र बनाएका थिए । बस्नेतले आफ्नी श्रीमतीको नाममा समेत कीर्ते आयात अनुमतिपत्र बनाएका थिए । तर ओलीकै दबाबमा उनलाई कीर्ते आयात अनुमतिपत्र बनाउने काण्डमा जोगाइएको थियो ।
काठमाडौं । सामाखुसीस्थित सिटी स्क्वायर मलमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले शुक्रबार साँझ छापा मारेको छ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएका इनाम सापकोटालाई पक्राउ गरेलगत्तै...
काठमाडौं । आयुर्वेद बिभागमा १ दशकभन्दा बढी समय आकर्षक महाशाखामा कार्यरत रही अवकाश पाएका डा. (कविराज) मुनकर्ण थापा सिंहदरबार बैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । मधेश प्रदेशको आपूर्ति केन्द्रबाट भएको स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव नै बाधक बनेका छन् । मधेश...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend