काठमाडौँ। प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) ले स्पष्ट धारणा बनाई नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्ने/नबन्ने अनिश्चित छ ।
अलमलमा रहँदै आएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा भने अझै अनिर्णीत छ ।
प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे जसपाभित्र दुई धारणा छन् । कांग्रेसको निर्णयले जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष उत्साही देखिएको छ तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले ओली र उनको विकल्पमा बन्ने सरकारलाई एउटै नजरले हेरेको छ । सरकारमा सहभागिता र समर्थन जनाउने विषयलाई यो समूहले निलम्बित सांसद रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, उनीहरू विरुद्ध लागेको मुद्दा फिर्ता र संविधान संशोधनको सर्तसँग जोडेको छ ।
सरकारसँग यी माग पूरा गराउन ठाकुर पक्षले कार्यदल बनाएरै छलफल अघि बढाइरहेको छ । यी माग सरकारले पूरा गरेमा प्रधानमन्त्री ओलीलाई नै पनि निरन्तरता दिन सकिने यो पक्षको संकेत छ । ‘हामीले अघि सारेका सबै माग सरकारले पूरा गर्न सक्छ भन्ने लाग्दैन, राजनीतिमा कतिपय विषय रणनीतिक हिसाबले अघि बढाइएको हुन्छ, त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ,’ जसपाका एक नेताले भने, ‘पार्टी फुटाएर ओलीलाई साथ दिने कुरा धेरै कठिन छ ।’
जसपा नेता राजकिशोर यादवले भने कांग्रेसको निर्णयले राजनीतिक कोर्स एक कदम अघि बढेको बताए । ‘कांग्रेसको निर्णय अर्थपूर्ण छ, अब माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ कि लिँदैन हेर्न बाँकी छ, माओवादीले समर्थन फिर्ता लियो भने जसपाले पनि एक ठाउँमा रहेर जे निर्णय लिनुपर्ने हो लिन्छ,’ यादवले भने, ‘जसपा अहिले पनि एक ठाउँमै छ । भोलि पनि रहन्छ । जे निर्णय हुन्छ, एकमतका साथ हुन्छ ।’ अर्का नेता जितेन्द्र सोनलले पनि माओवादीले लिने निर्णयले अब कोर्स कता जान्छ भन्ने तय हुने बताए । ‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने वैकल्पिक सरकारको कोर्स अघि बढ्छ,’ उनले भने, ‘जसपा त एजेन्डाकेन्द्रित पार्टी हो । हाम्रो एजेन्डालाई सम्बोधन गर्ने सुनिश्चित आधार भएपछि मात्रै सरकारको विषयमा कुरा गर्छौं ।’ (कान्तिपुर दैनिकबाट)