Nepal Face
  • बिहिबार, २८ साउन २०८३
  • पक्राउ र मुद्दाका प्रयासप्रति देउवाले भने- ‘ज्ञानेन्द्रले नसकेको कुरा अरूले पनि सक्दैनन्’


    बिहिबार, साउन २८ २०८३
    125
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र पत्नी डा. आरजु राणा देउवाविरुद्ध विगतमा भएका पक्राउ तथा कानुनी कारबाहीका प्रयासप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक रूपमा आफूलाई दबाबमा पार्न नसकिने दाबी गरेका छन्।

    बिहीबार साढे पाँच महिनापछि स्वदेश फर्किएपछि चुनदेवीस्थित काँग्रेसको संस्थापन इतर पक्षको सम्पर्क कार्यालयमा नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध विभिन्न तहबाट मुद्दा तथा पक्राउको प्रयास भएको बताएका हुन्।

    उनले आफू र पत्नीविरुद्ध अन्तर्राष्ट्रिय आपराधिक अदालतसम्म मुद्दा पुर्‍याउने प्रयास भएको दाबी गरे। त्यहाँबाट आफूहरूलाई पक्राउ नगर्ने भनिएको उनको भनाइ थियो। नेपालभित्र पनि पक्राउका लागि प्रयास भएको उल्लेख गर्दै देउवाले अदालतले आफू र पत्नीलाई पक्राउ नगर्न आदेश दिएको दाबी गरे।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायमार्फत समेत पटक(पटक अनुसन्धान र मुद्दा चलाउने प्रयास भएको उनले बताए। त्यस्ता प्रक्रियाबाट आफूविरुद्ध कुनै आधार नदेखिएको निष्कर्ष आएको दाबी गर्दै देउवाले त्यसपछि पनि विभिन्न ढंगले दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए।

    यस्ता विषयमा आफूले धेरै प्रतिक्रिया दिन नचाहेको बताउँदै देउवाले मुलुकमा न्यायिक संस्था र जनता दुवै रहेकाले वास्तविकता सबैले बुझिरहेको धारणा राखे। आफूविरुद्ध भएका गतिविधिको मूल्यांकन जनताले र अदालतले गर्ने उनको भनाइ थियो।

    सम्बोधनका क्रममा देउवाले आफूलाई राजनीतिक रूपमा कमजोर पार्ने प्रयासप्रति कडा प्रतिवाद गर्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा समेत आफू नझुकेको प्रसंग जोडेर अहिलेका प्रयासले पनि आफूलाई विचलित पार्न नसक्ने संकेत गरे।

    उनले आगामी दिनमा आफू र आफ्नो पक्षले त्यस्ता गतिविधिको राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार