Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • शान्ति मिसनमा सशस्त्र प्रहरी, साउथ सुडान मिशनमा जाने १३ औं डफ्फाको बिदाई


    बुधबार, साउन २० २०८३
    630
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न जाने १३ औं डफ्फाको साउन २० गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक बिदाई गर्नुभएको छ ।

    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिशन वान जुबामा कार्यरत १२ औं डफ्फालाई बदली गर्न जान लागेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको एक बर्षे कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामनासमेत व्यक्त गर्नुभयो ।

    उहाँले हाल विश्वमा भू–राजनीतिक प्रतिस्पर्धा, आतंकवाद र साइबर सुरक्षा जस्ता चुनौतीहरु थपिएको तथा शान्ति मिशनहरुको संख्या घट्दै गएको अवस्थामा यो अवसर पाउनु गौरवको बिषय भएको बताउनुभयो ।

    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले यो अवसर व्यक्तिगत नभई संगठन, राष्ट्र र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व भएकाले सशस्त्र प्रहरी कर्मचारीहरुले मिसनमा गरिने प्रत्येक कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि निर्धारण गर्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरीले शान्ति मिशनमा कायम गरेका व्यवसायिक पहिचानलाई उचाईमा पु¥याउन अझ जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभयो ।

    उहाँले दक्षिण सुडानको संवेदनशील सुरक्षा अवस्था, सांस्कृतिक विविधता र सीमित स्रोत–साधनका बीच कार्यसम्पादन गर्नुपर्ने चुनौतीका बीच व्यवसायिक दक्षता, आपसी विश्वास, समन्वय र सामूहिक भावनाका साथ कार्य गर्नुपर्नेमा जोड दिनुहुँदै यौनशोषण तथा दुव्र्यव्यहारमा शून्य सहनशीलता र मानवअधिकारका विषयमा पूर्ण सजक रहन कडा निर्देशन दिनुभयो ।

    अनुशासनमा कुनै किसिमको सम्झौता नगर्न र गल्ती गर्नेलाई तुरुन्त फिर्ता गर्नुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भन्नुभयो–‘कुनै एक जनाको गल्ती, लापरवाही तथा अनुशासनहिनताको कारणले मिशनमाथि प्रश्नचिन्ह उठ्यो भने त्यसको परिणाम घातक हुनेछ ।’

    उहाँले आर्थिक पारदर्शीता कायम गर्दै प्राप्त बजेटको सही सदुपयोग गरी मर्मत सम्भार तथा सामाग्री व्यवस्थापनमा इमान्दार हुन समेत निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरु मिशनमा कार्यरत रहँदा उनीहरुको परिवारमा आइपर्ने जस्तोसुकै समस्या समाधानका लागि संगठन सधैँ तयार रहेको बताउनुहुँदै मिसनको म्यान्डेट पूरा गरी सबै सशस्त्र प्रहरी कर्मचारीहरु थप गौरवका साथ स्वदेश फिर्ता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु बंशीराज दाहाल, गणेशबहादुर ठाडा मगर र अञ्जनीकुमार पोखरेलले समेत सो टोलीलाई हार्दिक बिदाई गर्नुभएको थियो ।

    सन् २००३ बाट सशस्त्र प्रहरी बल नेपाल यूएनको शान्ति मिशन अन्तर्गत पहिलो पटक लाइवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा सकिएको थियो । त्यसैगरी दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिशन प्राप्त भएको थियो । दक्षिण सुडान मिसनमा हाल १ सय ६० जना सशस्त्र प्रहरी कर्मचारीहरु कार्यरत छन् ।

    सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तसहित १ सय ६० जना सशस्त्र प्रहरी कर्मचारीहरु साउन २१ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार