Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री


    मंगलबार, जेष्ठ १२ २०८३
    355
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आफूलाई सुम्पिएको जिम्मेवारीको पूर्णरूपमा बोध गरिरहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार युरोपेली संघ (ईयू)मा आबद्ध मुलुकहरूका आवासीय तथा गैरआवासीय राजदूतहरूसँगको संयुक्त भेटमा उनले नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

    ‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध छौँ,’ उनले भने।

    प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताए।

    नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने उनले स्पष्ट पारे। व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको उनको भनाइ थियो।

    भेटवार्तामा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले सबैभन्दा बढी पीडा भोग्नुपरेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार