Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एसएसपी सरुवाको तयारी, काठमाडौं परिसरका लागि चर्काे दौडधूप ?


    आइतबार, जेष्ठ १० २०८३
    7.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, उपत्यका ट्राफिक र केही तालिम केन्द्रमा एसएसपी सरुवाका लागि गृहकार्य भइरहेको छ । काठमाडौं र ललितपुर परिसरका प्रमुख एसएसपी रमेश थापा र होविन्द्र बोगटीको कार्यकाल ९ महिना पूरा भइसकेको छ ।

    गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगत्तै असोज पहिलो साता नै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख परिवर्तन भएका थिए । काठमाडौंको थापा र ललितपुरको कमाण्ड बोगटीलाई दिएर जेनजी बिध्वंशमा भदौ २४ गते फरार भएका कैदीहरुलाई नियन्त्रणमा लिने दायित्व सुम्पिइएको थियो । तर अझै जघन्यदेखि बिभिन्न अपराधमा संलग्न ४ हजार कैदी फरार नै छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिनसकेको छैन ।

    जेनजी बिध्वंशमा जेलमा आगजनी र तोडफोड गरी भागेका साढे १४ हजार कैदीबन्दीमध्ये अझै चार हजार कैदीबन्दी फरार रहेको आईजीपी दानबहादुर कार्कीले शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा जानकारी दिएका थिए । ४ हजार फरार कैदीबन्दी बाहिरै रहेकाले उनीहरुले फेरि कुनै गम्भीर अपराध गर्नसक्ने संत्रास समाजमा ब्याप्त छ । फरार खुँखार अपराधीका कारण काठमाडौंमा ठूला घटना भए के गर्ने भन्ने प्रश्न निदान हुन सकेको छैन ।

    फरार कैदीबन्दीमध्ये कतिपय जघन्य अपराध गर्नेहरु पनि छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को काम जघन्य अपराधीहरु पक्राउ र अनुसन्धान गर्ने भए पनि आर्थिक मुद्दा बोलपत्र(ठेक्का) ह्याकिङ, बैंकिङ र सेयरजस्ता मुद्दामा मात्र केन्द्रित रहेको छ । आर्थिक बिषयसँग सम्बन्धित बिषयमा सीआईबीले दर्जनलाई पक्राउ गरे पनि उसले पेश गरेका मुद्दामा अदालतले कुनै पनि आरोपीलाई पुर्पक्षका लागि समेत पठाएको छैन ।

    फेक रेस्क्यु, बैंकका सीईओ, ठेकेदारको प्रकरणमा थुप्रै ब्यक्तिलाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरी मुद्दा बुझायो । तर अहिलेसम्म ठेक्का ह्याकिङमा सरकारी कर्मचारी (सब–ओभरसियर) दिवाकर देउजाबाहेक सबै छुटेका पाएका छन् । कोही पुर्पक्षमा गएनन् ।

    यसैबीच, काठमाडौं र ललितपुर परिसरको प्रमुख तत्कालै परिवर्तन गर्ने पक्षमा गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार टोली रहेको बुझिएको छ । तर आईजीपी दानबहादुर कार्की भने एक बर्ष कार्यकाल काम गर्न दिनुपर्ने पक्षमा रहेको बताइन्छ । सुलभ अग्रवाललाई हिरासतभित्रै ल्यापटप दिएको बिषयले छानबिन समिति नै गठन भएपछि ललितपुरका बोगटी भने परिवर्तन हुने निश्चित रहेको स्रोत बताउँछ । अग्रवालको ल्यापटप सीआईबीले लगेको छ भने छानबिन काठमाडौं परिसरले गर्ने जिम्मा पाएको छ ।

    एसएसपीहरुको सरुवा हुने चर्चासँगै जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखका लागि दौडधूप चलिरहेको छ । काठमाडौंको प्रमुख(एसएसपी)का लागि अजय केसी, दयानिधि ज्ञवाली, शिवकुमार श्रेष्ठ, सुरेश काफ्ले, दिलीप घिमिरेले शक्तिकेन्द्रमा लबिईङ गरिरहेका छन् । ललितपुर परिसर र तालिम केन्द्रहरुमा पनि यीमध्येबाटै एकजना सरुवा हुनेछन् ।

    काठमाडौं र ललितपुरको एसएसपी सरुवामा प्रधानमन्त्रीको सल्लाहकार टीमको सूची अनुसार गर्नुपर्ने हुन्छ । आईजीपी दानबहादुर कार्की गीत संगीतदेखि समितिका बैठकमा ब्यस्त रहिरहेका बेला सीआईबीका प्रमुख एआईजी डा. मनोजकुमार केसी शिवकुमार श्रेष्ठलाई काठमाडौं परिसरको प्रमुख बनाउने दाउमा लागेको बताइन्छ । श्रेष्ठलाई काठमाडौं परिसरमा ल्याएमा भूटानी केस ब्यूँताउन सकिने, कांग्रेस–एमालेका नेताहरुलाई ड्यामेज गर्न सकिने योजनामा वालेन्द्रदेखि सुधन गुरुङसम्मलाई उनले कन्भिन्स गरेको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार