Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५ करोडको सहमति, १० करोडको लोभ ! जग्गा प्रकरणमा केडिया अर्गनाइजेसनको धोकाधडी


    बुधबार, बैशाख ३० २०८३
    2.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • वीरगञ्ज । नेपालका प्रतिष्ठित व्यापारिक घराना मानिने केडिया अर्गनाइजेसन यतिबेला जग्गा कारोबारसँग जोडिएको गम्भीर आर्थिक तथा नैतिक विवादमा तानिएको छ । अर्बौं रुपैयाँको कारोबार गर्ने यो व्यापारिक घरानाका सदस्यहरू सामान्य बैना–बट्टाको लेनदेनमै विवादमा परेपछि व्यापारिक र सामाजिक वृत्तमा यसको प्रतिष्ठामाथि प्रश्न उठ्न थालेको छ ।

    पर्साको छिपहरमाई गाउँपालिकाको न्यायिक समितिमा परेको उजुरीअनुसार, वीरगञ्ज महानगरपालिका वडा नं. १४ निवासी ५५ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी र केडिया परिवारबीच जग्गा खरिद–बिक्रीको विषयलाई लिएर विवाद चर्किएको हो । विपक्षीका रूपमा काठमाडौं नक्साल निवासी ७१ वर्षीया अञ्जुदेवी केडिया र उनका भतिज ४२ वर्षीय मयंक केडियाको नाम उल्लेख गरिएको छ ।

    उजुरीमा जनाइएअनुसार, पर्साको साविक भिसवा गाविसस्थित जग्गा कुल ५ करोड ७५ लाख रुपैयाँमा बिक्री गर्ने मौखिक तथा टेलिफोनिक सहमति भएको थियो । सोही सहमतिअनुसार विपक्षी पक्षका कर्मचारी भनिएका शानवाज अलाबेजमार्फत ९ लाख ५१ हजार रुपैयाँ बैना रकम बैंकमार्फत् बुझाइएको दाबी निवेदकले गरेका छन् ।

    निवेदक कुर्मीका अनुसार, उक्त जग्गालाई प्लटिङ योग्य बनाउन आफू र आफ्ना साझेदारहरूले माटो पुर्ने, इँटा तथा बालुवा खसाल्ने लगायतका पूर्वाधार निर्माणमा करिब ७५ लाख रुपैयाँ लगानी गरिसकेका थिए । जग्गाको स्वरूप परिवर्तन भई मूल्य बढेपछि भने विपक्षी पक्ष पुरानो सहमतिबाट पछि हट्न खोजेको आरोप लगाइएको छ ।

    उजुरीमा भनिएको छ कि जग्गाको हालको बजार मूल्य करिब १० करोड रुपैयाँ पुगेको भन्दै मयंक केडियाले पुरानो मूल्यमा जग्गा दिन अस्वीकार गरेका छन् । निवेदकको दाबीअनुसार, आफ्नै कर्मचारीलाई मध्यस्थकर्ता बनाएर गरिएको लेनदेनपछि जग्गाको भाउ बढेपछि सहमति तोड्ने “बदनियतपूर्ण खेल” खेलिएको हो ।

    घटनाक्रमअनुसार, जग्गाको संरचना तयार भई प्लटिङ प्रक्रिया अघि बढिरहेका बेला मध्यस्थकर्ता शानवाज अलाबेजको निधन भएको जानकारी निवेदकले पाएका थिए । त्यसपछि सिधै जग्गाधनी अञ्जुदेवी केडिया र मयंक केडियासँग सम्पर्क गरी बाँकी रकम बुझाएर नामसारी गरिदिन आग्रह गर्दा उनीहरूले अस्वीकार गरेको आरोप उजुरीमा छ ।

    निवेदकले विपक्षीहरूले उल्टै गालीगलौज तथा कुटपिटको धम्की दिएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार शान्ति सुरक्षा तथा न्यायको मागसहित उजुरी दर्ता गराएका छन् । दर्ता नं. १६२० (मिति २०८३ वैशाख २९ गते) को निवेदनमा उनले बैनाबापत बुझाइएको ९ लाख ५१ हजार कट्टा गरी बाँकी रकम बुझेर जग्गा आफ्नो नाममा पास गराइदिन प्रशासनसँग माग गरेका छन् ।

    यो घटनाले घरजग्गा कारोबारमा मध्यस्थकर्तामार्फत् हुने लेनदेन, मौखिक सहमतिको जोखिम तथा सम्झौता कार्यान्वयनमा देखिने व्यावहारिक जटिलतालाई थप उजागर गरेको छ । साथै, अत्यधिक सम्पत्तिको लोभले वर्षौँदेखि निर्माण भएको व्यापारिक प्रतिष्ठा र सामाजिक विरासतसमेत संकटमा पर्नसक्ने संकेत यस घटनाले गरेको चर्चा भइरहेको छ ।

    हाल यो मुद्दा छिपहरमाई गाउँपालिकाको न्यायिक समितिमा विचाराधीन रहेको छ । तथापी मयंक केडियाले बुधबार आफ्ना लावा लस्कर लाई जेसिभी सहित जमीन मा माटो भर्न पठाएपछि केही बेर तनाव उत्पन्न भएको थियो । बैना गरेर जग्गा नदिने मयंक केडियाले उल्टै कुर्मी पक्षलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताको ध्वाँस दिएर तर्साइरहेका छन । रास्वपाका केही नेता–कार्यकर्ता पनि धोका दिने केडियाको फिल्डमा उत्रेको बताइन्छ ।

    यस बिषयमा प्रतिक्रियाका लागि मयंक केडियासँग नेपालफेस प्रतिनिधिले बुधबार १ बजे प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । केडिया सम्पर्कमा आएर आफ्नो प्रतिक्रिया दिएमा हामी यथोचित स्थान दिएर राख्नेछौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार