Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्दुशंकर चिनी उद्योगको गोदामबाट कालोबजारीको १ लाख २० हजार किलो चिनी बरामद


    आइतबार, भाद्र १६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । उद्योगबाटै चिनी र चामलको कालोबजारी हुँदा मूल्यबृद्धि आकाशिएको छ । विशेषगरी चाडपर्वको सम्मुखमा चिनीको कालोबजारी सुरु भएको छ । आश्चर्य त के छ भने चिनी उद्योगले नै कालोबजारी गरेको भेटिएको छ ।

    केडिया अर्गनाइजेसनद्वारा संचालित इन्दुशंकर चिनी उद्योग लिमिटेड सर्लाही, हरिवनबाट उत्पादित चिनीको गोदामबाटै बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले बिहीबार कालोबजारीको चिनी बरामद गरेको छ ।
    उत्पादन मिति एउटै भएका राजहंस ब्रान्ड ब्रान्डको चिनीका फरक फरक बोरामा फरक फरक एमआरपी (मूल्य) राखिएको विशेष सूचनाका आधारमा बिभागको टोलीले छापा मार्ने क्रममा फेलापरेको छ ।

    इन्दुशंकर चिनी उद्योगबाट उत्पादन बर्ष २०८०–०८१ मा उत्पादित राजहंस ब्रान्डको चिनमा फरक फरक बोरामा फरक फरक एमआरपी उल्लेख भएको चेकजाँचका क्रममा पाइएको विभागबाट खटिएको टोलीमा गएका एक कर्मचारीले जानकारी दिएका छन् ।

    इन्दुशंकर चिनी उद्योगको भगिनी संस्था रानीसती इन्टरनेशनल प्रा.लि.को गोदाममा चिनी खरिद गर्न आएको गाडीको चेक गर्ने क्रममा एस. सप्लायर कुलेश्वरले जारी गरेको बिक्री बिलसमेत विभागको टोलीले फेलापारेको थियो । उक्त बिलबारे थप सोधपुछ गर्दा रानीसती इन्टरनेशनलले एस. सप्लायरलाई चिनी बिक्री गरेको र एस. सप्लायरले गौतम स्वीटको नाममा नाममा बिल जारी गरेको देखिएको थियो । सो कार्य मूल्यबृद्धि गर्ने आशयले गरिएको भन्ने आशंका लागेको हुँदा थप एकीन र अनुसन्धान गर्न रानीसतीको नैकापस्थित गोदाममा रहेको १ लाख २० हजार किलो चिनी सिलबन्दी गरिएको छ ।

    उद्योगबाटै फरक फरक बोरामा फरक फरक एमआरपी उल्लेख भएको चिनी बरामद हुनुले कालोबजारीमा खुद्रा पसले होइन, उत्पादक नै संलग्न रहेको पुष्टि गरेको छ । केडिया अर्गनाईजेसनको स्वामित्वको केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडिया हुन् भने एमडी मनोजकुमार केडिया र डाइरेक्टर मोहित केडिया हुन् ।

    राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले उद्योगको गोदाममै फरक फरक बोरामा फरक फरक एमआरपी उल्लेख भएको चिनी बरामद हुनुले कालोबजारीमा उद्योग र ब्यवसायी नै संलग्न रहेको पुष्टि हुन्छ । यस्ता उद्योगी ब्यापारीलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।

    ३ दिनअघि मात्र गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विशेष बैठकमा सम्बद्ध निकायका उच्च अधिकारीहरुको रोहबरमा अध्यक्ष महर्जनले भनेका थिए–‘चिनी, चामल लगायत खाद्यान्नहरु उद्योग आफैंले बिक्री बितरण गर्दैआएका छन् । चिनी र चामलमै मूल्यबृद्धि अचाक्ली छ ।’

    महर्जनले भने–गृहमन्त्रालयमा भनेजस्तै उद्योगन नै कालोबजारी गरिरहेका छन् भन्ने पुष्टि भएको छ । बाणिज्य बिभागले गरेको अनुगमनका क्रममा चिनी मिलकै उत्पादन त्यही उद्योगको भगिनी ब्यवसायिक संस्था रानीसती इन्टरनेशनल प्रालिबाट ठूलोमात्रामा गोदाम गरिराखेको र एकै सालमा उत्पादन भएको चिनी फरक–फरक बोरामा फरक फरक मूल्यमा बिक्री गरिएको पाइएकाले यस्ता उद्योगी र ब्यवसायीलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार