Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भट्टको सेयर लिंदा सुधनलाई बज्रपात, मालपानीका मित्र सुनिल लम्सालले लगाउलान् त गृहमन्त्रीको ताज ?


    बुधबार, बैशाख ९ २०८३
    3K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएका छन् । सुधनको राजीनामासँगै गृहमन्त्रीमा रास्वपा सभापति रवि लामिछानेको कोटाबाट मनिषकुमार झा, दीपक बोहरा, कविन्द्र बुर्लाकोटीको चर्चा भइरहेको छ ।

    ओखलढुंगाका सांसद तथा नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलदेखि महानगर प्रहरीका पूर्व एसपी राजुनाथ पाण्डेले पनि गृहमन्त्री हुने चर्चा मिडियामा चलाइरहेका छन् । तर प्रधानमन्त्री वालेन्द्र शाहले भने आफ्ना महानगरको मेयर हुँदादेखिका मुख्य सल्लाहकार रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई नयाँ गृहमन्त्री बनाउने चर्चा भइरहेको छ ।

    प्रधानमन्त्री शाहले सभापति लामिछानेनिकट बुर्लाकोटी, झादेखि बोहरासम्म कसैलाई पनि गृहमन्त्री बनाउने पक्षमा नभएको बताइन्छ । उनी गृहमन्त्रीमा आफ्ना विश्वासपात्र लम्साललाई बनाउने र भौतिक पूर्वाधार मन्त्रीमा सुशान्त बैदिकलाई जिम्मेवारी दिने पक्षमा रहेको स्रोत बताउँछ ।

    रास्वपामा रविको कोरटिमका रुपमा ग्यालेक्सी गुट, मनिष झा र डा. स्वर्णिम वाग्लेहरुको कांग्रेस आयातित गुट र चुनावको मुखमा आएको वालेन्द्र शाह गुटमध्ये सरकारमा तेस्रो गुट बलियो देखिएको छ । ग्यालेक्सी गुटका दीपक बोहराहरु रुष्ट छन् भन्ने कुरा त प्रमोद न्यौपानेहरुले सामाजिक संजालमा पोखेको असन्तुष्टिले पनि पुष्टि गरिरहेको छ ।

    सुनिल लम्साललाई गृहमन्त्री बनाए कमलकिशोर मालपानीको कनेक्सनले उनी पनि सुधन गुरुङजस्तै ब्यवसायी दीपक भट्टसँग जोडिने जोखिम देखिन्छ । प्रतिनिधिसभाको चुनावमा मालपानीसँग भन्सारछली गरी आयात गरिएको ७ करोड मूल्यको डिफेन्डर वालेन्द्र शाहको प्रचारका लागि सुनिल लम्सालले नै मागेर लगेका थिए ।

    विवादित व्यवसायी कमलकिशोर मालपानीले ७–८ वर्ष पुरानो टोयोटा ल्याण्डक्रुजर लैजान आग्रह गर्दा समेत बालेन्द्र शाह ‘बालेन’का निकट लम्सालले नयाँ ल्याण्डरोभर डिफेन्डर नै मागेर लगेका थिए । मालपानीका छोरा नितेश मालपानी सुनिल लम्सालका मिल्ने साथी भएकाले उनले वालेनका लागि उक्त गाडी दिएका थिए । जुन गाडीको बिषयमा पत्रकार इश्वर अर्यालले रहस्य खोलिदिएपछि ठूलो विवादमात्र भएन । उक्त गाडी भन्सारछली गरी ल्याएको समेत भेटियो ।

    मालपानीको उक्त डिफेन्डर त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता रहेको भेटिएको थियो । यातायात व्यवस्था विभागको अभिलेखअनुसार कम्पनीका सञ्चालक नितेश मालपानी हुन्, उनी कमलकिशोर मालपानीका छोरा हुन् ।

    सुरुमा कमलकिशोर मालपानीलाई सिधै फोन गरेर गाडी मागिएको थियो । उनले यसबारे छोरा नितेशसँग कुरा गर्न आग्रह गरे । नितेशले नयाँ र महँगो गाडी चुनावी प्रचारमा प्रयोग गर्दा जोखिम उच्च हुने भन्दै पुरानो ल्याण्डक्रुजर लैजान सुझाव दिएका थिए । चुनावी ‍र्याली, पहाडी मार्ग र भीडभाडका बीच क्षति भए त्यसको आर्थिक भार ठूलो हुने तर्क उनले गरेका थिए । तर सुनिल लम्सालले ‘जबर्जस्ती वालेनजस्तो मान्छे पुरानो गाडी चढ्छ ?’ भन्दै नितेशसँग डिफेन्डर लगेका थिए ।

    डिफेन्डर २०२५ मोडेलको, २९९६ सीसी इन्जिन क्षमताको डिजेल हाइब्रिड सवारी हो । यो गाडी काइरोस इन्टरनेसनलमार्फत् नेपाल भित्रइएको हो । काइरोस इन्टरनेसनल ज्यागुअर ल्यान्डरोभरको आधिकारिक बिक्रेता होइन । तेस्रो बजारमार्फत् आयात गरिएको सवारी सम्बन्धी कागजात र प्रक्रियामाथि प्रश्नहरू उठे । तर डिफेन्डरको आधिकारिक बिक्रेता सम्बन्धी पेश गरिएका कागजात किर्ते भएको समाचार नै प्रकाशित भए ।

    सुधन गुरुङलाई ब्यवसायी दीपक भट्टका लघुवीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सको २५–२५ लाखको सेयर दिएका कारण उनको पद चट् भयो । ऋण लिएर किनेको भनी रातारात कपाली तमसुक बनाएर झन् फसेपछि अन्ततः उनी राजीनामा दिएर बाहिरिए । डिफेन्डर गाडी प्रकरणले भौतिक पूर्वाधार मन्त्री लम्सालको कनेक्सन विवादित ब्यापारी मालपानीसँग जोडिएको छ ।

    मालपानीका गुट्खा उत्पादन गर्ने श्रीराम टोबाको कम्पनी र करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रालिमा भट्टको १० प्रतिशत सेयर रहेको छ । कमलकिशोर मालपानीले वाईवाईको ट्रेडमार्क चोरी गरी करेन्ट उत्पादन गरेको र विनोद चौधरीको संभावित आक्रमणबाट बच्न राजनीतिक संरक्षणका लागि दीपक भट्टको शरणमा परी उनलाई निःशुल्क १०–१० प्रतिशत दुबै कम्पनीका सेयर दिएका थिए ।

    प्रशासन मिलाउन जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यरातमा अर्थमन्त्रालयमा गएर करका दर हेरफेर गर्ने रघुनाथ घिमिरेलाई पनि मालपानीले यशोदा र श्रीराम दुबैमा सेयर दिएका छन् । दीपक भट्टका ब्यवसायिक साझेदार मालपानीसँग कनेक्सन भएका सुनिल लम्साल गृहमन्त्री भएमा उनी पनि विवादमा आउने त होइनन् भन्ने आशंका गर्न थालिएको छ । मालपानीमार्फत् भट्टले लम्साललाई पनि कुनै न कुनै हिसाबले प्रभावित पारिसकेका त छैनन् ? यी कुरा पनि समयक्रममा खुल्ने नै छन् ।

    श्रीराम टोबाको उद्योग प्रालिमार्फत् उत्पादित सूर्तीजन्य पदार्थमा अन्तःशुल्क स्टीकर नलगाई बजारमा पठाएको आरोपमा राजस्व अनुसन्धान विभागले छापा मारेको थियो । कमलकिशोर मालपानीको नागरिकता प्रकरण पनि विवादास्पद छ । भारतीय नागरिकका छोरा मालपानीले वंशजका आधारमा नागरिकता लिएको प्रक्रिया र प्रतिलिपि निकाल्ने क्रममा नियम उल्लंघन भएको आरोप लाग्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार