Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • राष्ट्रपति पौडेलले अन्तिमसम्म देउवालाई नै प्रधानमन्त्री बनाउन चाहिरहेका थिए : राधाकृष्ण मैनाली


    मंगलबार, कार्तिक ४ २०८२
    850
    Shares
    नेपाल फेस
  • ११ मिनेट पाठ
  • ० चुनाव भयो भने हारिन्छ भन्ने मनोविज्ञान अहिलेका दलहरुमा छ
    ० विद्रोहको वातावरण बनाउन यिनै नेताहरुको हात छ
    ० फेरि विद्रोह भएको खण्डमा आउने नेपाली सेना नै हो ।
    ० एमालेका कार्यकर्ताहरु जेनजीका युवाजस्तै आक्रोशित नभएसम्म अध्यक्ष पदबाट ओलीले राजीनामा दिँदैनन्
    ० भदौ २३ गते नै संकटकाल लगाएर सेनालाई सुरक्षाको जिम्मा किन दिइएन ?
    ० ओलीले राजीनामा दिएर राष्ट्रपतिले संकटकाल लगाएको भए शान्ति कायम गर्न सकिन्थ्यो ।
    ० सेनाले त अभिभावक बनेर देश र जनता बचाउने काम गरेको छ ।
    ० नेताहरुको मूर्खपनले विद्रोहको वातावरण बनेको हो ।
    ० राष्ट्रपतिले जेनजीको आक्रोश र मागलाई सम्बोधन गर्ने दिशामा भन्दा पनि संविधान बचाए भन्दै सेनाको बदनाम गराएका छन् ।
    ० निर्वाचनबाट यिनै बेवकुफहरु आउने हो भने संविधान सुधार गर्लान् ?

    अबको राजनीतिक कोर्स कसरी अगाडि बढ्ला ?

    अहिले खासगरी कांग्रेस, एमाले, माओवादी र समाजवादीहरु परिवर्तन हुन सकेनन् । एमालेमा ओली जत्ति अप्ठ्यारोमा परेर लखेटिए अवको दिनमा सुधार गरेर हिजो निर्दलीय राजा बहुदलीय भए, २०६३ सालमा राजा गणतन्त्रवादी भए जसले परिवर्तन स्वीकार गरे । राजाका नजिकका नेताहरु पनि चुनावमा आएर भाग लिए । यसरी पुरातन शक्तिहरुले पनि सुधारलाई स्वीकार गरे । अहिलेका आफूलाई प्रगतिशील भन्ने शक्तिहरुले जेनजीको आक्रोशलाई अझ सम्बोधन गर्न सकेनन् र जेनजीले संविधान सुधार गर्नुपर्छ भने । उनीहरुको माग संविधान परिवर्तन र खारेजी पनि थिएन । जुन संविधानले १८ वर्षमा के गर्नुपर्दछ त्यो भएन त्यसैमा युवाहरुको आक्रोश आएको हो ।

    उनीहरुले संविधान सुधार गर भनेका थिए । संविधान संशोधन गरेर राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली लागू गर भनेका थिए । जनताबाट निर्वाचित हुने प्रणाली सुरु गर मात्रै भनेका मात्रै थिए । संसदीय प्रणालीले गरिबी हटाएन , अराजकता बढायो । राजनीतिक अराजकता लोकतन्त्र होइन भनेर युवाहरु विद्रोहमा आए । यो अनुभूतिलाई दलहरु मान्न तयार छैनन् । अहिले पनि यही संसदीय व्यवस्था फर्काएर हिजोको लूटतन्त्र र गरिबी बढाउने तन्त्रलाई अँगाल्न लागे । त्यसैले हेर्दाखेरी अडान राखे जस्तो देखिए पनि एमाले पार्टी सबैभन्दा बढी डराएको छ । निर्वाचनमा जाँदा ध्वंश हुन्छौं भनेकाले उसले बहिस्कार गर्छौं भनेको छ । जुन प्रतिगामी कदम हो । संविधान सुधारको दिशामा नजाने र हिजोको संविधानलाई नै मान्ने प्रतिगामी कदममा नेताहरु लागिपरेका छन् । त्यो लागेकै कारणले भूल सुधारको बाटोमा नजाने अवस्था छ । यो युवाहरुले स्वीकार गर्दैनन् ।

    राष्ट्रपतिले दलहरुलाई फकाएका छन् नि ?

    राष्ट्रपति रामचन्द्र पौडेलले जति फकाए पनि चुप लाग्ने अवस्था छैन । चुनावको घोषित मिति २०८२ फागुन २१ गतेअघि नै एक प्रकारको द्वन्द्व सिर्जना हुन्छ । अब द्वन्द्व भयो भने संविधान रहँदैन । चुनाव भयो भने हारिन्छ भन्ने मनोविज्ञान अहिलेका दलहरुमा छ । त्यसपछि आफूले गरेको भ्रष्टाचारको खोजी हुन्छ भन्ने डर छ ।

    हिजो सेनाले जेनजी आन्दोलनमा पुराना दलका नेताहरुलाई सहयोग नगरेको हो ?

    जेनजी आन्दोलनका क्रममा सेना नेता बचाउन हैन, देश र जनता बचाउन लागिपरेको थियो । त्यसैकारण गोली चलाएन । अहिले पुनः बिद्रोह भयो भने सेनाले गोली चलाएर नेता बचाउन लाग्दैन । प्रहरीको अवस्था पूरै ‘डिमोरलाइज’ भएको छ । तथापि प्रहरी नै अगाडि आयो भने पनि नेताहरु बच्दैनन् । यो विद्रोह ल्याउन पनि यिनै नेताहरुको हात छ । कुनै जेनजीको चलाखी होइन । ओलीले भनेजस्तै विदेशीको सरकार हैन । विद्रोहको वातावरण बनाउन यिनै नेताहरुको हात छ । हिजो गणेशमानको चाक्सीबारीमा आएर भाषण गर्ने को थिए ? नेताहरुको मूर्खपनले विद्रोहको वातावरण बनेको हो । नेताहरुले यसरी हालीमुहाली गरेर लुटलाई अघि बढाउन चाहेका छन् । जुन सेनाले मान्दैन ।

    फेरि विद्रोह भएको खण्डमा आउने नेपाली सेना नै हो । त्यो अवस्थामा देशमा रक्तपात पनि हुन सक्छ । यसकारण निर्वाचन गराउने बाटोमा जाने, त्यसपछि मूख्य नेताहरुले राजनीतिबाट अवकास लिन, दोस्रो तहका नेताहरुले संविधान सुधार गर्न क्याबिनेटलाई अधिकार दिएर संशोधित संविधानका आधारमा चुनाव गर्ने जेनजी आन्दोलनको मूख्य आशय पनि त्यही हो । त्यसले देशको बाटो तय गर्छ । संविधानसभाका सदस्य रहेका दलका नेताहरुले बनाएको संविधान १० वर्ष पनि टिकाउ भएन । लाखौं कार्यकर्तालाई पाल्नुपर्ने अवस्था, भ्रष्टाचारका निमित्त खुकुलो वातावरण, जसले जहाँ जति लुटे पनि हुने त्यो संविधानकै त्रुटि हो । यो अवस्थाले त दीपावली गरेर जनताले सेनालाई बोलाउने अवस्था आउँछ ।

    जेनजी आन्दोलनमा केही स्वतन्त्र तिब्बत समर्थकहरु लागेको त तथ्यहरु आएका छन् नि ?

    घुसपैठ अरुले भनेजस्तै त लाग्दैन । किनकि २३ गते सामान्य युवाहरुमात्रै अग्रमोर्चामा थिए । तर, गोली चलाइसकेपछि बिभिन्न पार्टीका आक्रोशित मान्छेहरु राज्य ध्वंश पार्नुपर्छ भनेर लागिपरे । त्यसमा एमाले, काँग्रेस र माओवादीका निस्क्रिय कार्यकर्ताहरु आए । जसमा प्रचण्ड, ओली र देउवाले आदेश दिएका होइनन् । राज्यमाथिको आक्रोश, देउवा, ओली र काग्रेसमाथिको आक्रोशका कारण हतियार लिएर बाहिर आएका हुन् ।

    हिजो कांग्रेसलाई भोट हाल्नेहरुबाटै देउवाको घर जलाए, एमालेलाई भोट हाल्ने कार्यकर्ताहरुले ओलीको घर जलाए । माओवादीलाई भोट हाल्नेहरुले प्रचण्डको घर आगो लगाए । किनकि माओवादीको संस्कार नै लुट मच्चाउनु हो । माओवादीको समाजवाद भनेकै मान्छे कुट्ने र लुट्ने हो । त्यही काम अहिले पनि गर्दैछन् । विदेशीलाई दोष दिने त नेपालीहरुको चलन नै हो । केपी ओलीले गल्ती नगरेको भए विद्रोह नै हुँदैनथ्यो । साथै ओलीले २३ गते नै राजीनामा दिएको भए विद्रोह नै हुँदैनथ्यो ।

    भदौ २४ गते सेनाको दबाबमा बल्लतल्ल ओलीले राजीनामा दिए । राजीनामा नदिइकनै सुरक्षा गरे भनिरहेका थिए । सेनाले यसरी देश अघि जाँदैन भनेपछि मात्रै राजीनामा गर्न बाध्य भएका थिए । अहिले पनि ओलीले स्वीकार गरेका छैनन् ।

    पछिल्लो समयमा फेरि पूर्व प्रधानमन्त्री ओलीले चुनावमा भाग लिन्न भनेका छन् नि ?

    जेनजीले घर घेर्लान् भन्ने डर ओलीसँग छ । त्यसैले उनी फेरि सत्तामा आउन चाहन्छन् । त्यो भनेको संसद पुनस्र्थापना गर्नु हो । अहिले पनि ओलीले नेतृत्व छाडेर संविधान सुधारको बाटोमा जाने हो भने एमाले अहिले पनि बौरिन्छ । होइन भने अझै तल झर्छ । एमालेका कार्यकर्ताहरु जेनजीका युवाजस्तै आक्रोसित नभएसम्म ओलीले अध्यक्ष पदबाट राजीनामा दिँदैनन् । ओलीले राजीनामा नदिएको खण्डमा ओलीमात्रै हैन एमाले पनि सिद्धिन्छ । प्रचण्ड सत्तामा नहुँदा गणतन्त्र जान्छ भन्थे ओली पनि म नभए एमाले रहँदैन, एमाले नभएको खण्डमा देश रहँदैन भन्छन् । चुनावले एमालेको साख घट्छ भनेका छन् । यसले देशको उन्नति होइन, देशको अवन्नति, लोकतन्त्रको संकट सिर्जना गर्छ । नयाँ छलाङ ल्याएर देशको उन्नति गर्नुपर्नेमा ओलीको कारण देश फस्ने सम्भावना देखिन्छ । तथापि देश नै विलय हुने अवस्था चाहिँ त होइन । यिनीहरुको कारण देशमा नयाँ जोगी आउन पनि सक्छ ।

    सिंहदरबार, शितल निवास, सर्वाेच्च अदालत, प्रधानमन्त्री कार्यालय, महान्यायाधिवक्ताको कार्यालयलगायतका महत्वपूर्ण डकुमेन्ट भएका अड्डा, अदालत र संरचनाहरु जल्नबाट बचाउन नसक्दा आम मान्छेहरुले सेनाको कामलाई तिब्र आलोचना गरेका छन् त ?

    यो नेताहरुले चलाएको हल्लामात्रै हो । नेताहरुले आफ्नो गलत इच्छा र आकांक्षाका कारण देशमा विद्रोह आएको हो । भदौ २३ गते नै संकटकाल लगाएर सेनालाई सुरक्षाको जिम्मा किन दिइएन ? हिंसा भड्कियो भनेपछि राजिनामा दिएको भए त्यो अवस्था नै आउँदैनथ्यो । २३ गते बेलुकी नै ओलीले राजीनामा दिएर राष्ट्रपतिले संकटकाल लगाएको भए शान्ति कायम गर्न सकिन्थ्यो । त्यो नगर्नुमा ओली र राष्ट्रपति दुबैजनाको दोष हो । ओलीले राजीनामा दिएपछि पनि तुरुन्तै संकटकाल लगाइएन । जसका कारण सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनमा आगो लाग्यो । गल्ती छोप्नका लागि सेना आएन भनिंदैछ ।

    सेनालाई त आदेश चाहिन्छ । प्रहरीले पनि आदेशमै गोली चलाएको हो । सेनामा त प्रक्रिया छ, सुरक्षा परिषद्को बैठक बस्नुपर्ला । राष्ट्रपति र प्रधानमन्त्रीले आदेश दिनुपर्छ । यसमा सेनाको दोष छैन । सेनाले त अभिभावक बनेर देश बचाउने काम गरेको छ । त्यो समयमा राष्ट्रपतिप्रति पनि बिद्रोहीको आक्रोश थियो । राष्ट्रपतिले जेनजीको आक्रोश र मागलाई सम्बोधन गर्ने दिशामा भन्दा पनि संविधान बचाएँ भन्दै सेनाको बदनाम गराएका छन् । सेना नभएको भए संकट अझ अघि बढ्ने थियो । चुनाव नगरी संसद नै फर्काउँछौ भनेको खण्डमा देशलाई सेनाको जिम्मा लगाउनु हो ।

    राष्ट्रपति पौडलले त संविधान बचाएर ठूलो काम गर्नुभयो भन्दै कतिपय नेताहरु प्रशंसामै व्यस्त छन् त ?

    त्यो त राष्ट्रपतिको महाबेवकुफीको कुरा हो । देश बचाउने, लोकतन्त्र बचाउने कि कामै नलाग्ने संविधान बचाउने ? हिजो पञ्चायती संविधान फाले जसरी यो संविधान फाल्नुपर्छ भनेर जेनजीको माग थिएन । भ्रष्टाचारको नियन्त्रण, सुशासन र संविधान संशोधनमात्रै भनेका थिए । अहिलेका राष्ट्रपतिले आफ्नो पद सुरक्षित गर्ने नाममा जेनजीका आक्रोशलाई कुल्चिने काम गरिरहेका छन् । जेनजीलाई फकाएर निर्वाचनपछिको सरकारले गर्छ भनिरहेका छन् ।

    निर्वाचनबाट यिनै बेवकुफहरु आउने हो भने संविधान सुधार गर्लान् ? युवाहरुको माग बमोजिम प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको पद्दतिमा जाने र आमजनताको मतबाट नेतृत्व छान्ने भन्ने बित्तिकै संघीयतामा प्रश्न उठ्छ र एक लाख कार्यकर्ताहरुको जागिर जान्छ भन्ने उनीहरुमा छ । यसरी आफ्ना एक लाख कार्यकर्ताबाट कमिसन खाने काम बन्द गर्न उनीहरु चाहँदैनन् । उनीहरुको बाटो सुक्छ । यसैकारण संविधान सुधारको पक्षमा उनीहरु छैनन् ।

    प्रधानमन्त्री त भदौ २४ गते दिनको १ बजे बाथरुममा गएपछि एक घण्टा नै बसे भनिन्छ नि ?

    त्यो त मलाई थाह भएन तर, राष्ट्रपति पौडेलले अन्तिमसम्म शेर बहादुर देउवालाई नै प्रधानमन्त्री बनाउन चाहिरहेका थिए । जेनजी र सेनाको पनि दबाब आएपछि मात्रै गैरदलीय सरकारका लागि तयार भएका हुन् । त्यो समयमा सेनाले छाडेको भए यिनीहरु मारिन्थे । त्यसैकारण गैर संसदीय सरकार बनाउन तयार भए । यो सरकारलाई निकम्मा बनाएर संसद ब्यूँताएर पुरानै राज चलाउनका लागि योजनाबद्ध रुपमा दलका नेताहरु र राष्ट्रपति सबैजना लागिपरेका छन् । डायरी एक्सप्रेस साप्ताहिकबाट

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार