Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • मन्त्री घिसिङद्वारा सूर्यविनायक-धुलिखेल सडकको अनुगमन


    सोमबार, असोज ६ २०८२
    780
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक-धुलिखेल-धुलिखेल खावा सडकको निर्माण प्रगतिबारे स्थलगत जानकारी लिएका छन् ।

    अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरेका हुन् ।

    चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन घिसिङले निर्देशन दिएका छन् । साथै, आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्ण रूपमा परिचालन गर्न तथा चालू आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न उनले निर्देशन दिएका छन् ।

    सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डमा ३९ प्रतिशत भौतिक प्रगति भएको छ भने साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत प्रगति भएको छ ।

    आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ। टेवा पर्खाल तथा नाली निर्माणको ८० प्रतिशत काम सकिएको र करिब १ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । तर, सडक सीमा विवाद, घर-टहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारण निर्माण प्रभावित बनेको बताइएको छ ।

    बजेटको अभाव हुन नदिने आवश्यक पहल गर्ने मन्त्री घिसिङले आश्वासन दिएका छन् । महानिर्देशक विजय जैशीका अनुसार आयोजनाका लागि चालू आर्थिक वर्षमा करिब ३ अर्ब बजेट आवश्यक पर्नेमा ५० करोड मात्र विनियोजन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार