Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • निजगढ विमानस्थल निर्माणमा हाम्रो अवरोध हुँदैन : वातावरणमन्त्री आले


    बुधबार, माघ ७ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बारा जिल्लाको निजगढमा निर्माण गरिन लागेको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा वन मन्त्रालयबाट कुनै अवरोध नहुने बताउनुभएको छ ।

    निजगढ अन्तरराष्ट्रिय विमानस्थल बन्ने ठाउँको आज अनुगमन गर्न त्यहाँ जानुभएका मन्त्री आलेले विमानस्थल निर्माणमा पाँच हजार रुख काट्नुपर्ने र त्यसमा मन्त्रालयबाट कुनै अवरोध नहुने स्पष्ट गर्नुभयो । अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थल निर्माण गरिने काइयाबस्ती क्षेत्रमा रहेका कम्तीमा पनि एक हजार ४७६ घरधुरीका नागरिक विस्थापन हुने भएकाले सबैभन्दा पहिले तिनको उचित व्यवस्थापन गरी विमानस्थल निर्माण अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नागरिकलाई सडकमा अलपत्र छाडेर विमानस्थल बनाइँदैन, बरु विस्थापन हुने नागरिकलाई उचित व्यवस्थापन गरिने छ ।” विकासका लागि रुखै काट्न नपाइने होइन भन्दै उहाँले गलत मनसायले रुख नकाटिने काट्न भने नदिइने जनाउनुभयो ।

    निजगढ विमानस्थल निर्माण शुरु हुने सोही अनुगमनका क्रममा निजगढ पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निजगढ अन्तराष्ट्रिय विमानस्थल देशकै नमूना विमानस्थल बनाइने बताउनुभयो । मन्त्री ढकालले विमानस्थल निर्माण भए देशकै मुहार फेरिने तथा यहाँकै नागरिकले प्रत्यक्ष सेवा पाउने भएकाले विमानस्थल चाँडै निर्माण गरिने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “निजगढ विमानस्थल अन्तराष्ट्रियस्तरमै नमूना विमानस्थल बनाइने छ, यसका लागि हामी निकै कसरत गर्दै छौँ, चाँडै कामको शुरुआत हुनेछ ।” विमानस्थल निर्माण क्षेत्रको अनुगमन गर्नका लागि मन्त्रीसहितको अनुगमन टोली अहिले बारा जिल्लामै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार