Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गुणस्तरहीन औषधि बजारमा छ्यापछ्याप्ती, औषधि बिभागको अनुगमन सून्य


    बुधबार, फाल्गुन ७ २०८१
    2.9K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । औषधि ब्यवस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकाल आफ्नो पद टिकाउन अनेक हत्कण्डा गर्दैआएका छन् । लामो समयदेखि सो पदमा कार्यरत रहेका ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई खुसी बनाएर टिक्न सफल भएका छन् ।

    फार्मेसी अधिकृत राजेश श्रेष्ठका उनका विश्वासपात्र र औषधि उद्योगसँग सेटिङ गर्ने मुख्य विश्वासपात्र हुन् । बिभागको अति महत्वपूर्ण रुपमा लिइने अनुमति शाखामा कार्यरत रहेका श्रेष्ठको बारेमा धेरै गुनासा पुगे पनि महानिर्देशकले उनलाई उल्टै पुरस्कृत गर्दैआएका छन् ।

    केही औषधि उद्योगहरुको प्रलोभनमा परेर श्रेष्ठले नियमित नजराना नबुझाउनेहरुलाई दुःख दिने कार्य गर्दैआएका छन् । बजारमा म्याद नाघेका र जनस्वास्थ्यमा घातक असर गर्ने गुणस्तरहीन औषधिहरु उद्योगमा फिर्ता(रिकल) गर्ने प्रावधान छ । तर महानिर्देशक ढकालले कागजमा मात्र फिर्ता गरेको देखाएर उद्योगहरुसँग करोडौं घुस लिएको उजुरी स्वास्थ्य मन्त्रालयसम्म पुगेको छ । तर स्वास्थ्य मन्त्रीलाई खुसी पारेपछि उनको यो भ्रष्टाचारमा पनि जनगुनासा दबाइएको छ ।

    पछिल्लो समय गएको माघ २१ गते बिभागले बनेपा जनगालस्थित क्यूरेक्स फर्मास्युटिकल्स प्रा.लि.बाट उत्पादित  Calbone Tablet (Each Chewable tablet contains Calcium Carbonate from an Organic Source (oyster shell) equivalent to Elemental Calcium USP 500mg and Vitamin D3 IP 250 1U)औषधि फिर्ता गर्नका लागि सूचना निकालेको छ । तर उक्त औषधि पसलले उक्त औषधि फिर्ता गरे नगरेको अनुगमन बिभागले नगर्दा खुलेआम अहिले पनि बिक्री भइरहेको छ । क्यूरेक्स फर्माबाट उत्पादित उल्लेखित औषधिको उत्पादन, बिक्रीवितरण रोक्का तथा बजारवाट फिर्ता गर्ने सूचना निकालेर बिभागले झारा टार्ने काम गरेको छ ।

    तोकिएको गुणस्तरबमोजिम नभएको पाइएकोले उक्त औषधिको उत्पादन तथा बिक्रीवितरण रोक्का राख्नुका साथै बजारमा उपलब्ध ब्याच नम्बर टीसीएल २०३ देखि ३४१ सम्मका औषधिहरुसमेत तुरुन्त फिर्ता गरी सोको विवरण विभागमा पेश गर्न उद्योगलाई माघ २० गते निर्णय गरी माघ २१ गते पत्रिकामा सानो सूचना प्रकाशित गरी झारा टार्ने काम गरेको छ । १ ब्याचमा १० लाख औषधि उत्पादन हुन्छ ।

    क्यूरेक्स फर्माले उक्त औषधि १३८ ब्याच उत्पादन गरेको बिभागको सूचनामा स्पष्ट देखिन्छ । १३८ ब्याचको प्रतिब्याच १० लाखका दरले हिसाब गर्दा १३ करोड ८० लाख वटा औषधि उत्पादन गरी क्यूरेक्स फर्माले बजारमा पठाएको देखिन्छ । तर ती औषधि क्यूरेक्सले कति फिर्ता गर्यो बिभागले अनुगमन नै गर्दैन । क्यूरेक्सको मात्र होइन, हरेक औषधि उद्योगका औषधि फिर्ता गर्ने सूचना बाहेक अनुगमन बिभागले नगर्दा मानव स्वास्थ्यमा घातक औषधि बजारमा खुलेआम बिक्री गरी अपराधलाई प्रश्रय दिने काम बिभागले गर्दैआएको छ ।

    उक्त औषधि कति बजारमा गएको छ, गएकोमध्ये कति बिक्री भइसक्यो र कति फिर्ता गर्नुपर्ने हो त्यसको कुनै अभिलेख बिभागले राख्ने गरेको छैन । फिर्ता गर्ने सूचना निकाले पनि ती औषधि बजारमा बिक्री भइरहेको बिभागलाई थाहा छ । कतै गुणस्तरहीन औषधिको बारेमा उजुरी परे फिर्ता गर्ने सूचना निकालेको भनेर फाइल पल्टाएर देखाउने काम मात्र बिभागबाट हुँदैआएको छ । गुणस्तरहीन औषधि फिर्ता गर्ने सूचना निकाल्ने र अनुगमन नगरी बिक्री गर्न छुट दिई बिभागका महानिर्देशक नारायण ढकालले करोडौं घुस खाने गरेको आरोप छ । मंगलबारको दृष्टि साप्ताहिकमा समाचार छ–क्यूरेक्स फर्माका संचालक सुशील मित्तलले पनि बिभागका महानिर्देशक ढकाललाई घुस बुझाएर फिर्ता गर्ने सूचना निकाले पनि गुणस्तरहीन औषधि बजारमा खुलेआम बिक्री गरिरहेका छन् ।

    ६ बर्षअघि २०७५ माघमा पनि क्यूरेक्स फर्मास्यूटिकल्सले उत्पादन गरेको जुका तथा छालामा हुने संक्रमणबिरुद्धको पोभिन नामक पोभिडोन आयोडिन सोलुसनका सातवटा व्याच नै गुणस्तर परीक्षणमा असफल भएपछि फिर्ता गर्ने निर्णय बिभागले गरेको थियो ।

    बिभागले गुणस्तरमा फेल भएर मानव स्वास्थ्यमा हानी गर्ने औषधि फिर्ता गर्ने सूचना निकालेपछि क्यूरेक्सले स्थानीय तहका स्वास्थ्य शाखामा सस्तो दरमा टेण्डरमार्फत् आपूर्ति गर्ने गरेको छ । स्वास्थ्य वीमा कार्यक्रममा पनि ग्रामीण भेगका नागरिकलाई बिभागले गुणस्तरहीन भनेर फिर्ता गर्ने सूचना निकालेका औषधिहरु क्यूरेक्सले आपूर्ति गर्दैआएको छ ।

    स्थानीय तहले औषधि आपूर्तिको टेण्डर गर्दा अति कमदरमा आपूर्ति गर्ने प्रस्ताव हाल्दै क्यूरेक्सले गुणस्तरहीन मात्र होइन, म्याद नाघेका औषधि समेत आपूर्ति गर्ने गरेको छ । जसको अनुगमन नहुँदा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको छ ।
    औषधि उद्योगहरुमा अनुगमन नगर्ने, बिदेशी औषधिको सूचीकरणमा हुने चलखेलबाट करोडौंंको हेराफेरी गर्दैआएका महानिर्देशक नारायण ढकालका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमाणसहित दर्जनांै उजुरी पर्दा पनि छानबिन हुनसकेको छैन ।

    मानवस्वास्थ्यमै असर गर्ने काम गरी कमिसन खाने ढकाललाई अख्तियारले अभयदान दिएकोमा बिभागकै कर्मचारी चकित छन् । वर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल तनहुँका भएको र ढकाल जोडिएको जिल्ला स्याङ्जाका हुन् । गुणस्तरहीन औषधि बिक्री गर्न छुट दिनेदेखि विदेशी औषधिको सूचीकरणमा लिएको कमिसनको हिस्सा मन्त्रीसम्म पुर्याएर ढकाल टिक्दैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार