Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोशन भूसाल र कृष्ण अग्रवालको सेटिङमा दुवईबाट सुन तस्करी


    मंगलबार, पुष १४ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौं । चुडामणि उप्रेती ‘गोरे’ पक्राउपछि सुस्ताएको सुनतस्करी पुनः सुरु हुन थालेको छ । केही महिनादेखि रोशन भूसाल (गुप्तलाल) र कृष्ण अग्रवालको सेटिङमा दुवईबाट नेपालमा सुनतस्करी हुन थालेको स्रोतले बताएको छ । स्रोतका अनुसार लकडाउनको समयमा हवाई उडान बन्द भएकाले तस्करी भएन । तर लकडाउन खुलेपछि भूसाल र अग्रवालले सुनस्तकरी सुरु गरेका छन् ।

    २०७७ पुस ११ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित नुवाकोट शिवपुरीका प्रलाद थापा र धादिङ मैदीका अर्जुन प्रसाद थपलियालाई प्रहरीले पक्राउ गरेकाले पनि सुन तस्करी सुरु भएको कुरालाई पुष्टी गरेको छ । प्रहरीले थापासँग ५० ग्राम सुन र चार लाख ३७ हजार नगद तथा थपलियासँ ५० ग्राम सुन र चार लाख ४० हजार रुपैयाँ नगद बरामद गरेको थियो । सुनसहित थापा र थपलियाको पक्राउले पनि दुवईबाट सुन तस्करी हुने गरेको पुष्टि गरेको छ ।

    सुन तस्करीमा भूसालको संजाल 

     चार बर्षअघि २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बरामद गर्यो । उक्त सुन दुवईबाट नेपालमा पठाउने मुख्य नाइके रोशन भूसाल भनिने गुप्तलाल भूसाल, हरिशरण खड्का र कृष्ण अग्रवालहरुको भएको खुल्यो । भूसाल, खड्का र अग्रवाल दुवईमा बसी नेपालमा सुन तस्करी गर्दैआएको पुष्टि भएपछि सीआइबीले उनीहरुलाई पक्राउ गर्न सकेन । उनीहरुका बिरुद्ध रेडकर्नर नोटिस जारी भयो । रेडकर्नर नोटिसका आधारमा खड्का दुवईमा पक्राउ परे । तर भूसालले भने नेपालमा प्रहरीदेखि न्यायालय सेटिङ गरी रेडकर्नर नोटिसबाट आफ्नो नाम हटाए । हरिशरण खड्का, भूसाल र अग्रवाल मिलेरै सुन तस्करीको काम गर्दैआएका थिए । तर खड्का पक्राउ परेपछि भूसाल र अग्रवालले तस्करीको सबै रकम एक्लौटी खाएपछि उनीहरुबीच विवाद चलिरहेको छ ।

    २०७३ फागुन १७ मा चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले ३३ किलो तस्करीको सुन लुकाएको आरोपमा सनम शाक्यको हत्या गरे । गोरेसँगै मिलेर सुन तस्करी गर्दैआएका रोशन भूसाल, हरिशरण खड्का, कृष्ण अग्रवालसहितको समूह त्यसपछि तितर बितर भयो । भूसालले अदालत सेटिङ गर्दै नेपालमा सुन तस्करीको रकमले घरजग्गा किन्दै गए । यसबीचमा सुनतस्करीमा भूसालको समूह लागेको थिएन । तर पछिल्लो समयमा भूसाल र कृष्ण अग्रवालले पुनः नेपालमा सुन तस्करी र हुन्डी कारोबार गर्न थालेको स्रोत बताउँछ । सुनतस्करी गर्न थालेपछि प्रहरीको नजरमा फरार भूसाल नेपालको अध्यागमनबाट पटक पटक दुवईमा जाने आउने गर्दैआएका छन् ।

    भूसाल गृहमन्त्रालयदेखि प्रहरीको सीआईबी, विशेष ब्यूरोसम्म मिलाएर दुवई ओहोरदोहोर गर्दैआएका छन् । भूसाल र अग्रवालको समूहले दुवईबाट नेपालमा सुन तस्करी र हुन्डीको कारोबार गर्नका लागि दुवईमा माउन्टेन ज्वेलर्स खोलेका छन् । माउन्टेन ज्वेलर्सबाट नेपालमा सुनतस्करी हुने गरेको छ । अग्रवाल हालसालै रोशन भूसालको याक एण्ड यति दोहोरीमा पनि लगानी गरेका छन् । अग्रवाल र भूसाल मिलेर याक एण्ड यतिमा डान्सबार पनि संचालन गर्ने तयारी गरेका छन् ।

    भूसाल र अग्रवालको समूहले केही दिनअघि डा. दिनेश आचार्यको एष्टोरिया होटलभित्र रहेको एभरेष्ट क्लव गुण्डागर्दी गरेर हडपेका छन् । उनीहरुले धम्की दिएपछि क्लव नै छाडेर ज्यान बचाउन आचार्य भागीभागी हिंडेका छन् । अग्रवालसँग मिलेर भूसालले नेपालीलाई नै अत्याचार गर्ने र ब्यवसायबाटै हात धुने अवस्थामा पुर्याउने काम गरेका छन् ।

    भूसालको सेटिङ कहाँ कहाँसम्म ?

    सुनतस्करीमा संलग्न भनेर त्यतिबेला सीआइबीले विमानस्थलका एसपी श्याम खत्री, गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठलाई पक्राउ गरेको थियो । तर दुवईबाट सुन नेपालमा पठाउँदैआएका भूसाल र खत्रीलाई भने पक्राउ गरेको थिएन । ती मध्ये खड्का पक्राउ परे तर भूसाललाई प्रहरीका उच्च अधिकारीले नै जोगाउने काम गरेका थिए ।

    भूसाल र हरिशरण खड्का नै ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख नाइके भएको भन्दै सिआइबीले मुद्दा दायर गरेको थियो । तर त्यही सिआइबीले मुख्य अभियुक्त भूसाल पक्राउको घटना गोप्य राखी अदालतबाट छुट्ने वातावरण बनाउन समेत सहज गरिदिएको थियो । प्रहरीकै सहयोगका कारण भुसाल २० लाख रुपैयाँ धरौटीमा शुक्रबार छुटेका थिए ।
    स्रोतका अनुसार तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सिआइबीका डिआइजी पुष्कर कार्कीले भूसाललाई सहयोग गरेका थिए । सोही कारण उनी पक्राउ परेको घटनालाई गोप्य राखी अदालतमा पेश गरिएको थियो । अदालतमा पनि सेटिङ गरी उनी छुटेका थिए । सुन बरामद गर्दाताकाका सीआइबीका डीआइजी नवराज सिलवाल अवकाशपछि सीआइबीसँग सेटिङ गरी भूसालले उन्मुक्ति पाउँदै गए ।

    खड्का पक्राउ परे परे तर भूसालले काठमाडौंमा बसी जग्गाको कारोबार गर्दैआएका छन् । भूसालले सुनतस्करीबाट अरबौंको सम्पत्ति जोड्न सफल भएका छन् । उनका दुवईमा क्लबदेखि ज्वेलरी सप र नेपालमा थुप्रै ठाउँमा घरजग्गा छन् । उनले सुनतस्करीको रकमबाट काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा भब्य सपिङ कप्म्लेक्स निर्माण गरिरहेका छन् । साविक गोंगबु गाविस ५ ‘क’ कित्ता नम्बर २४९ को ३ रोपनी ८ आना ३ पैसा जग्गामा उनको कम्प्लेक्स निर्माण भइरहेको छ । गेम्जो गुरुङकी श्रीमती ताकडोल्मा गुरुङको नाममा रहेको उक्त जग्गा भूसालले खरिद गरी कम्प्लेक्स निर्माण भइरहेको छ । उक्त जग्गामा कम्प्लेक्स निर्माण गरेको स्रोत के हो ?

    यो बिषयमा पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गर्ने भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रवक्ता सुशील आचार्यले भूसालको उजुरीमा अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् ।  भूसालले प्रहरीका सीआइबी, विशेष ब्यूरोदेखि एयरपोर्टसम्म सेटिङ गरी रेडकर्नर नोटिसबाट समेत आफ्नो नाम हटाएका थिए । अदालतमा सेटिङ गरी मुद्दा जित्दैआएका छन् । हाल उनको मुद्दा सर्वोच्चमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार