काठमाडौं। प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी)ले प्रहरीको उलन कपडाको पाइन्ट खरीदमा ठगी गरेको अभियोगमा दुई जना ठेकेदारलाई पक्राउ गरेको छ।
सिआईबीले क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिक संचालक पर्सा वीरगंज उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्का र कम्पनीका प्रतिनिधि चितवन माडी नगरपालिका वडा नम्बर ८ घर भएका ४६ वर्षीय नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको हो।
सिआईबीका प्रमुख डीआइजी सहकुल थापाका अनुसार आर्थिक वर्ष २०७३ र ७४मा उलन पाइन्टको कपडा बीस हजार मीटर खरीद गर्न बोलपत्र आह्वान गरिएकोमा क्राउन टेक्सटाइल्सले प्रति मिटरको १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको कर बाहेकमा दुई करोड़ सोह्र लाख चालिस हजार खरीद गर्ने सम्झौता गरेको थियो ।
तर,सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयबाट क्राउन प्रतिनिधी नरेन्द्रनाथ पौडेललाई साछी राखेर राखी नमूना निकाली परीक्षण गर्न साउन ३० गते भारत पठाइयो ।
तर, दुईदिनपछि टेक्सटाइल्सका पौडेलले भारतको सोही ल्याबमा आफूखुशी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरेकाले पक्राउ गरी ठगीमा अनुसन्धान थालिएको डीआइजी थापाले जानकारी दिए।