Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • बारा, पर्सा र रुपन्देहीमा सरुवा हुन एसपीहरूको शक्तिकेन्द्रमा दौडधूप


    सोमबार, माघ ७ २०८१
    3.1K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले पुस २९ गते २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गर्‍यो ।

    बढुवा सिफारिसमा परेका प्रहरी उपरीक्षकहरूलाई मंगलबार (भोलि) नभए बुधबार (पर्सि) दर्ज्यानी चिन्ह प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    ‘भोलि हो या पर्सि अहिलेसम्म एकीन भइसकेको छैन,’ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश आचार्यले भने ।

    २५ जना एसपी एसएसपीमा बढुवा भएसँगै चार जिल्लामा कार्यरत् एसपीहरूले आफू कार्यरत् जिल्ला छोडिसकेका छन्। ती चार वटा जिल्लामा बारा, सिन्धुपाल्चोक, इलाम र नुवाकोट पर्छन् ।

    बाराका महेन्द्र खड्का, इलामका प्रभुप्रसाद ढकाल, सिन्धुपाल्चोकका सन्तोष खड्का र नुवाकोटका शान्तिराज कोइराला एसएसपी बढुवामा परेकाले ती जिल्लामा प्रहरी प्रधान कार्यालयले तत्कालै नयाँ एसपी पठाउने तयारी गरिरहेको छ।

    ती बाहेक पर्सा र रुपन्देहीमा कार्यरत एसपीको कार्यअवधि एक वर्ष पुग्न लागेको छ। पर्सामा कार्यरत कुमोध ढुंगेलको एक बर्ष पुग्न लागेको छ। बारामा कार्यरत एसपी महेन्द्र खड्का एसएसपीमा बढुवा भएकाले त्यहाँ जान आकांक्षीहरू लागिपरेका छन्।

    रुपन्देहीमा कार्यरत् रन्जितसिंह राठौरको समेत कार्यअवधि पुग्न लागेकाले उक्त जिल्लामा जान एसपीहरू प्रतिस्पर्धा गरिरहेका छन् । ती तीन जिल्लामा जान एसपीहरू शक्तिकेन्द्र धाइरहेको बुझिएको छ।

    यी तीनै जिल्लामध्ये सबैभन्दा आकर्षक जिल्ला पर्सा पर्छ। पर्सामा जान एसपी राजन लिम्बू र सन्तोष तामाङ शक्तिकेन्द्र धाइरहेका छन् । उनीहरू अहिलेका प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन् । दुबै एसपी प्रधानमन्त्री ओलीका पूर्वपीएसओ हुन् । प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँदा दुबै ओलीको बडिगार्ड (पीएसओ)बसेका अधिकृत हुन् । दुबै एसपीले प्रधानमन्त्री ओलीको ‘पावर’ लगाइरहेको बुझिएको छ । सन्तोष तामाङले बालाजु, रसुवा जस्ता आकर्षक पोष्टिङ पाएर ललितपुरको झम्सिखेलमा बिशाल बंगलादेखि झापादेखि भक्तपुरसम्म श्रीमतीका नाममा जग्गा पनि थुप्रै जोडेको आरोप छ । बालाजुमा जग्गा प्लटिङ गर्ने र रसुवामा सुनदेखि रक्तचन्दन र भन्सार छली तस्करी गर्नेहरुबाट कुस्त उठाएको आरोप उनीमाथि लाग्ने गरेको छ ।

    लिम्बू यसअघि जिल्ला प्रहरी कार्यालय मोरङ जान तयारी अवस्थामा थिए । मोरङका एसपी नवराज कार्की अकस्मात् प्रहरी प्रधान कार्यालय तानिएपछि लिम्बूलाई प्रधान कार्यालयले त्यहाँ खटाउने निर्णय गरेको थियो । तर, रातारात उनको सरुवा निर्णय बदर गर्दै प्रधान कार्यालयले एसपी नारायण चिमरियालाई मोरङ पठाएको थियो । ओलीनिकटको ‘ट्याग’ लागेका एसपीलाई नपठाउन कांग्रेस नेताहरूले गृहमन्त्री रमेश लेखकलाई दबाब दिएका कारण कांग्रेसनिकट मानिएका चिमरियालाई प्रधान कार्यालयले खटाउँदा लिम्बू ‘ब्याक’ भएका थिए ।

    मोरङ जान तम्तयारी गर्दैगर्दा रोकिएका लिम्बू आकर्षक जिल्ला पर्सा, रुपन्देही वा बारा जान राजनीतिक शक्तिकेन्द्र धाइरहेका छन् । एसपी तामाङ पनि तीन जिल्लामध्ये एउटामा आफ्नो दाबी पेश गर्दै राजनीतिक शक्तिकेन्द्र धाइरहेका छन् । त्यसो त रुपन्देही सरुवा हुन प्रबन्धमा बसी कुस्त कमाएका गोविन्द पुरी शक्तिकेन्द्रमा दौडिरहेका छन् । प्रबन्धमा बसेर आईजीपीसँग् निकट भएकाले उनी रुपन्देही सरुवा हुने कुरामा ढुक्क छन् ।  तर, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्सामा विवादरहित र व्यावसायिक एसपी पठाउन चाहिरहेको उनीनिकट स्रोत बताउँछ।

    अर्का एसपी अंगुर जीसीले पर्सा जिल्लामा दाबी गरिरहेका छन्। जीसी निर्मला बलात्कार(हत्या प्रकरणको अनुसन्धान गरेकै भरमा प्रहरी संगठनबाट निलम्बनमा परेर मुद्दा जितिकन व्यावसायिक जीवन पुनरागमन गरेका अधिकृत हुन् । कुनै पनि शक्तिकेन्द्रसँग नजिक हुन नचाहने छवि बनाएका जीसी प्रहरी महानिरीक्षक कुँवरले के निर्णय गर्छन् त्यसैको पर्खाइमा रहेको बुझिन्छ ।

    ‘विगतमा राजनीतिक शक्तिकेन्द्रसँग नजिक रहेर काम गरेका व्यक्तिहरूको लविङ हुने नै भयो,’ प्रधान कार्यालय स्रोत भन्छ, ‘आफू (कुँवरको) आइजीपीबाट बिदा हुनुअघि कम्तीमा अवसर र चुनौती रहेका जिल्लामा व्यावसायिक र काविल प्रहरी अधिकृत पठाउनुपर्छ भन्ने चाहना रहेको बुझिन्छ ।’

    कुँवर प्रहरी महानिरीक्षकको विद्यमान तीस वर्षे उमेर हदका कारण चैतमा अवकाशमा जाँदैछन् । यद्यपि, कुँवरले विगतमा गरेका सरूवा–बढुवा विवादरहित भने छैनन् । व्यावसायिक प्रहरीको पहिचान बनाएर नेतृत्वमा पुगे पनि उनले गरेका निर्णयहरूमा प्रश्न उठिरहेकै छ।

    तथापि, अवकाशोन्मुखको अवस्थामा उनी राजनीतिक शक्तिकेन्द्रलाई ‘चिढ्याउन’ भने चाहेका छैनन्। तर, कुँवरमाथि भने व्यावसायिक प्रहरी अधिकृतहरूको भरोसा रहेको प्रहरी अधिकृत बताउँछन् ।

    बारा, पर्सा, रुपन्देहीबाहेक २५ एसपी एसएसपीमा बढुवा हुँदा खाली रहेका अन्य आकर्षक ठाउँहरू पनि छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी नवराज अधिकारी एसएसपी बढुवामा परेका छन् । त्यहाँ जान पनि एसपीहरू लालायित रहन्छन्।

    त्यसबाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् शिवकुमार श्रेष्ठ र जनार्दन जिसी एसएसपीमा बढुवा भएका छन् । अख्तियार पनि आकर्षक ठाउँ मानिन्छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत् होविन्द्र बोगटी एसएसपी बढुवामा समावेश भएकाले उनको स्थान रिक्त छ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसमेत आकर्षक मानिन्छ। त्यहाँ कार्यरत कृष्ण पंगेनी एसएसपीमा बढुवा भएसँगै विभागमा एसपी दरबन्दी रिक्त रहेको अवस्था छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार