Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापाबाट खैरो हिरोइन र गैंडाको खागसहित एक भारतीय नागरिक पक्राउ


    बिहिबार, पुष २५ २०८१
    915
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • झापा – झापा प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम रहेका छन्। उनलाई बुधबार इलाका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरेको हो।

    झापाका प्रहरी उपरीक्षक मिलन केसीले रामधामलाई मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको १०२ नम्बर कोठाबाट पक्राउ गरिएको जानकारी दिए।

    लागुऔषध तथा खाग तस्करी गर्ने क्रममा रामधान गेस्ट हाउसको कोठा भाडामा लिएर बसिरहेका थिए। उक्त सूचना पाएपछि खटिएको टोलीले रामधानको साथबाट तीन ग्राम ७६० मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरी उपरीक्षक केसीले बताए।

    यसका साथै रामधानको साथबाट २.८०० ग्राम पिइभोन स्पास प्लस लेखिएको १८ थान ट्याबलेट बरामद भएको उनले बताए।

    रामधानलाई पक्राउ गर्दा उनको साथबाट १ किलो ७०० ग्राम भएको गैंडाको खाग बरामद गरिएको उनले बताए। ‘खैरो हिरोइन तौलने तराजु एक थानसमेत हाम्रो प्रहरी टोलीले बरामद गरेको छ,’ केसीले भने। रामधानले लागुऔषध र गैंडाको खाग कसका लागि कहाँबाट ल्याएका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको छ।

    ‘पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान थालिएको छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘प्रारम्भिक अनुसन्धान भइरहेको छ, उनले कहाँबाट के कसरी र कसका लागि लागुऔषध ओसारपसार गरिरहेका थिए भन्नेबारेमा विवरण खोजिरहेका छौं।’ रामधानबाट बरामद भएको खाग परीक्षणमा छ। उनले खाग कहाँबाट कसरी प्राप्त गरे भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको केसीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार