Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मध्यपहाडी लोकमार्गको बन्द हट्यो, यातायात नियमित सञ्चालन


    मंगलबार, पुष ७ २०७७
    605
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • पर्वत। दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातयात सञ्चालन गरिएको हो । यसअघि हरेक दिन दैनिक बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म यातायात बन्द हुँदै आएको थियो । राष्ट्रिय गौरवको आयोजनाको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका–८ चुवाको भिरमा कटान गर्न तीन हप्ताका लागि सडक बन्द गरिएको थियो ।

    निर्माणकार्य पनि अघि बढाउँदै अवरुद्ध सडक पनि सञ्चालन गरिएको सडक निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले जनाएको छ । सडक चक्लाबन्दी गर्ने काम भने अहिलेसम्म ३० प्रतिशत मात्रै सकिएको छ । लामो समयसम्म सडक बन्द गरिरहँदा समस्या हुने भएकाले तीन हप्तापछि सञ्चालन गरिएको र केही हप्तापछि बन्द गरेर बाँकी खण्ड पूरा गर्ने योजना रहेको कम्पनीले जनाएको छ । “केही समय बन्द खोलेर पनि काम गर्छौँ, नसकिएको खण्डमा पछि बन्द गरेर पनि पूरा गर्ने योजना बनाएका छौँ”, कम्पनीका प्रतिनिधि राजाराम आचार्यले भन्नुभयो । लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका–७ खरेहाबाट वडा–८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउने तथा कतिपय ठाउँमा सुधार र कालोपत्रको काम चलिरहेको छ ।

    कालोपत्रको काम चलिरहेका ठाउँमा समस्या नहुने भए पनि भिर कटान गर्नुपर्ने ठाउँमा सवारी सञ्चालनमा रहँदा दुर्घटना जोखिम हुने भएका कारण यसअघि बन्द गरिएको थियो । कम्पनीले मोदीखेतबाट ओढारेसम्म कालोपत्र विच्छ्याउने काम गरेको छ भने चुवा र छमर्केबाट पनि कालोपत्रको काम थालेको जनाएको छ । आयोजनाको २३ किलोमिटर पर्वत खण्ड आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

    जलजलामा भू–सेवा केन्द्र स्थापना

    धवलागिरिको स्थानीय तहमै पहिलोपटक पर्वतको जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना भएको छ । स्थानीय तहबाट जनतालाई जग्गासम्बन्धी लिखत प्रमाणित, अंशवण्डा, राजीनामा, नामसारीलगायत जग्गा प्रशासनसम्बन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापनाको गरिएको हो ।

    सोमबारदेखि शुरु भएको केन्द्रको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सदरमुकाम कुश्मामा रहेका कार्यालयबाट प्रदान हुने सेवा विस्तारै गाउँपालिकाबाटै जनतालाई उपलब्ध गराउन लागिपरेको बताउनुभयो । कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानून व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीय तहबाटै हुने भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । उहाँले केन्द्रबाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्रसहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने बताउनुभयो । प्राविधिक सामग्रीसहित जनशक्तिको व्यवस्थापन गरी भू–सेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदायस्तरमा प्रचारप्रसार गरिने उहाँले बताउनुभयो ।

    अनलाइनमा भएको फाराम भरेर प्रिन्ट गरी प्रमाणीकरणका लागि मालपोत कार्यालयमा निवेदन र लिखत पठाउँदा सेवा प्रवाह सहज हुने प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ । गाउँपालिकामा सेवा शुरु हुनु अगाडि कर्मचारीलाई भू–सेवा केन्द्रमार्फत गर्ने काम गराउनका लागि तालिमसमेत दिइएको थियो । केन्द्रले स्मार्ट मालपोतको अभ्यास हुने गाउँपालिकाले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार