Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको जग्गादान मुद्धा पूर्ण सुनुवाइमा


    शुक्रबार, मंसिर २८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दिएको विषयमा परेको रिट सर्वोच्च अदालतको पूर्ण सुनुवाइमा प्रवेश गरेको छ।

    शुक्रबार अन्तरिम आदेशबारे निर्क्योल गर्न पेसी तोकिएको भए पनि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलामले दुवै तर्फको लिखित जवाफ परिसकेको भन्दै पूर्ण सुनुवाइ अघि बढाएको हो।

    आज निवेदकतर्फका ६ र विपक्षी एमालेतर्फका ६ जना कानुन व्यवसायीले बहस गरेका छन्। सोमबार पुनः सुनुवाइ हुने गरी यो रिट आज हेर्दाहेर्दैमा राखिएको निवेदक अधिवक्ता ज्ञानबहादुर बस्नेतले नेपालखबरलाई जानकारी दिए।

    उनका अनुसार, इजलासले २० देखि २५ मिनेटभित्र बहस सक्ने हो भने फैसला गर्न तयार रहेको जनाउ दिएको थियो। तर, एमालेतर्फका धेरै कानुन व्यवसायीले वकालतनामा लेखाएको र जग्गादाता गुरुङका तर्फबाट पनि बहस बाँकी नै रहेकाले सुनुवाइ लम्बिएको हो। दुवैतर्फको बहस सकिएपछि अब यसै इजलासबाट फैसला हुने भएको छ।

    अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइमा यसअघि न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले गत कात्तिक १२ गते उक्त जग्गादान प्रथम दृष्टिमै कानुनप्रतिकूल भनी तत्काल प्रक्रिया अघि नबढाउन भनेको थियो।

    एमालेलाई भाटभटेनीका सञ्चालक गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं. २, मैत्रीनगरमा १० रोपनी १४ आना दिएको घोषणा गरी भवनसमेत बनाइदिने भनेका छन्। उक्त स्थानमा गत असोज २५ गते नै भवनको शिलान्यास गरिसकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार