Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • यस्तो छ नेपाल-चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौताको पुर्णपाठ


    मंगलबार, मंसिर २५ २०८१
    935
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको बिआरआई ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ दस्तावेजको पुर्णपाठ सार्वजनिक भएको छ ।

    पाँच बुँदामा समेटिएको फ्रेमवर्कको पहिलो बुँदामा विस्तृत पृष्ठभूमि उल्लेख गरिएको छ। यसैअन्तर्गत सहकार्यका अन्य डकुमेन्टमा हस्ताक्षर हुने बताइएको छ।

    दोस्रो बुँदामा सहकार्यका सिद्धान्तहरू राखिएको छ, जसमा साझा विकासका लागि संयुक्त परामर्शलगायत तीनवटा सिद्धान्तहरू उल्लेख छन्। पहिलो सिद्धान्तमा साझा विकासका लागि संयुक्त परामर्श, दोस्रोमा सार्थक प्रभावका लागि व्यावहारिक सहकार्य र तेस्रोमा लगानी वृद्धिका लागि नीतिगत वातावरण तयार पार्ने विषय उल्लेख छन्।

    तेस्रो बुँदामा सहकार्यका चार उद्देश्य समेटिएका छन्। तिनमा प्राथमिकताप्राप्त योजनाहरूको विकासद्वारा व्यापार, पूर्वधारा र कनेक्टिभिटीको क्षेत्रमा सहकार्य गर्नेलगायत छन्। जहाँसम्म विकास परियोजनाको सन्दर्भ हो, त्यो सन् २०१७ मा भएको बीआरआई समझदारीको दोस्रो बुँदामा उल्लिखित ‘सहकार्यका क्षेत्रहरू’ अन्तर्गत रहने उल्लेख छ।

    फ्रेमवर्कको चौथो बुँदामा सहकार्यका प्राथमिकताहरू तोकिएका छन्। यसअन्तर्गत पहिलो प्राथमिकतामा आर्थिक सहायता, दोस्रोमा वित्तीयक्षेत्र सहायता राखिएको छ। तेस्रो प्राथमिकतामा यातायात, कनेक्टिभिटी तथा लजिस्टिक क्षेत्रलाई राखिएको छ। केही वर्षयता चर्चामा रहँदै आएको हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्ने विषयपनि यसै बुँदामा उल्लेख छ।

    फ्रेमवर्कमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहदुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड विकास रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुसे हस्ताक्षर गर्दै सहकार्यको चौथो प्राथमिकतामा व्यापार, औद्योगिक क्षमता तथा लगानीको क्षेत्र छुट्याइएको छ। पाँचौँ प्राथमिकता भन्सार सञ्चालनसँग सम्बन्धित छ । शिक्षा, स्वास्थ्य र चिकित्साक्षेत्रमा पनि सहकार्यका लागि विस्तृत कार्यढाँचा बनाउन सकिने पनि यसै बुँदामा उल्लेख छ।

    फ्रेमवर्कको पाँचौँ बुँदामा ‘वार्ताका लागि पहिचान गरिएका योजनाहरू पहिचान गर्ने’ उल्लेख गरिएको छ। ती परियोजनाहरू १० वटा छन्। ती परियोजनाहरूमध्ये पूर्वाधार र सहरी विकाससँग सम्बन्धित पाँच योजना छन्। तिनमा १० टोखा–छहरे सुरुङमार्ग, २० हिल्सा–सिमकोट सडकमार्ग, ३० किमाथांका–खाँदबारी सडकमार्ग–किमाथांका पुल र एकीकृत चेकपोस्ट, ४० नेपालतर्फ पर्ने चीन–नेपाल सीमापार रेलमार्ग र ५० अमरगढी डडेलधुरा सिटीहल निर्माण छन्।

    ऊर्जासँग सम्बन्धित एउटा योजना उल्लेख छ। त्यसमा जिलोङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार विद्युत प्रसारण लाइन पर्छ।

    शिक्षा र स्वास्थ्यसँग सम्बन्धित दुई परियोजना छन्। तिनमा मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजी विश्वविद्यालय र काठमाडौँ बैज्ञानिक केन्द्र र विज्ञान संग्रहालय छन्।

    उद्योग र व्यापारसँग सम्बन्धित एउटा परियोजना उल्लेख गरिएको छ। झापाको दमकमा निर्माण गरिने ‘चीन–नेपाल मैत्री उद्योग पार्क’ राखिएको छ। यसैगरी खेलकूदसँग सम्बन्धित परियोजनामा झापा स्पोर्टस् एन्ड एथलेटिक्स कम्प्लेक्सको निर्माणलाई राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार