Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?


    शुक्रबार, मंसिर १४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघि आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनु नै मौन अबधि हो ।

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्दछ ।

    मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता काम गर्न पनि नपाइने आयोगले जनाएको छ ।
    निर्वाचन प्रचारप्रसार निषेध गरिएको अवधिमा उपरोक्तबमोजिम कार्य भए गरेको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सुक्ष्म अनुगमन गरी कारबाही गरिने आयोगले जनाएको छ ।

    निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ ।

    निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेको छ ।

    मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार