Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भ्रष्टाचारको यही रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्छः अभियन्ता पाठक


    बुधबार, कार्तिक २८ २०८१
    2.9K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • भक्तपुर । भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकले देशमा भ्रष्टाचार यही रफ्तारमा अघि बढ्ने हो भने नेपाललाई अल्बानिया हुनबाट कसैले पनि बचाउन नसक्ने बताएका छन् ।

    बुधबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकसँगको साक्षात्कार कार्यक्रम” मा  बोल्दै उनले भने, “कुनै बेला पुर्बी युरोपमा अवस्थित अल्बानिया भन्ने देश विकसित थियो, पछि त्यहाँका शासकले विचौलियासँग मिलेर देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएका कारण उक्त देश अन्धकारमा धकेलिएको छ ।” उनले कुनै पनि देशको सरकारले विचौलिया र माफियाहरूसँग मिलेर उनीहरूलाई लाभ हुने निर्णय सरकारबाट गराउँदै जान्छ भने त्यो देशको हविगत ढिलोचाँडो अल्बानिया जस्तै हुने ठोकुवा गरे ।

    उनले विशेषगरी युवाहरूलाई भ्रष्टाचारविरोधी अभियानमा अगाडि आउन आग्रह गर्दै भने–“देशको भविष्य युवाहरूको हातमा छ । यदि आजको पुस्ताले भ्रष्टाचारविरुद्ध आवाज बुलन्द नगर्ने हो भने आगामी पुस्ताले हाम्रो असफलताको मूल्य चुकाउन बाध्य हुनेछ ।”

    पाठकले नेपालको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचारको गति यही हिसाबले अघि बढ्ने हो भने नेपाल ३ वर्षमा अल्बानिया हुने बताउँदै देशलाई भ्रष्टाचारको चंगुलबाट मुक्त गर्न युवा, नागरिक समाज र सरोकारवालाहरूले एकजुट भई अभियान चलाउनुपर्नेमा जोड दिए ।

    पाठकले नेपालको वर्तमान अवस्थामा सरकारले चालेका कदमहरूलाई आलोचना गर्दै भने, “हाम्रो देशमा पनि ठूला ठूला निर्णयहरू विचौलिया र माफियाका प्रभावमा हुँदै आएको देखिन्छ । यदि यो क्रम रोकिएन भने हामी अल्बानिया जस्तै भयावह स्थितिमा पुग्नेछौं ।” उनले हालका सरकारी नीति र योजना धेरैजसो व्यक्तिको स्वार्थसँग गाँसिएको भन्दै यसले नेपाललाई अल्बानियाको मार्गतर्फ धकेल्न सक्छ भन्ने चिन्ता व्यक्त गरे ।

    कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, शिक्षक, विद्यार्थी र सरोकारवाला लगायत अन्य व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो । सहभागीहरूले भ्रष्टाचार रोकथाममा राज्यको भूमिका कमजोर रहेको र नागरिक स्तरमा सशक्त अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

    सोसाइटीको अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अरुण महतले गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार