Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजस्व अनुसन्धान बिभागका डीजी, असुलीमै बिजी


    आइतबार, फाल्गुन १३ २०८०
    4.4K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । राजस्व अनुसन्धान विभागको नेतृत्व अहिले असुलीधन्दामा ब्यस्त रहेको छ । बिभागका महानिर्देशक नवराज ढुंगाना नयाँबर्षसँगसँगै सरुवा हुने चर्चाबीच असुलीधन्दामा लिप्त हुन थालेका छन् ।

    विभागले राजस्व चुहावट र तस्करी नियन्त्रण कुनै उल्लेखनीय काम गर्न नसकिरहेको आरोप लागिरहेका बेला ढुंगानाले जसरी हुन्छ कमाउधन्दालाई अभियानकै रुपमा अगाडि बढाएका छन् । स्रोतका अनुसार महानिर्देशक ढुंगाना नै असुलीधन्दामा अग्रसर भएको थाहा पाएपछि मातहतका कार्यालयका प्रमुखहरुले त्यही सिको गरेका कारण पछिल्ला दिनमा देशभर तस्करी बढेको छ ।

    इटहरी कार्यालयका प्रमुख खेमराज ओझा, पथलैयाका प्रेमप्रसाद देवकोटा, बुटवलका पशुपतिबाबु पुरी र कोहलपुरका तीर्थराज खनालले पनि ढुंगाना पथ अंगिकार गर्दै तस्कर र ब्यापारीसँग लेनदेनमै सेटल गर्न थालेका छन् ।

    मातहतका कार्यालयमा तस्करीको सामान लोड भएका गाडी बरामद गरेको सूचना पाउनासाथ महानिर्देशक ढुंगानाले केन्द्रमा पठाउन आदेश दिने र मोटो रकम असुली कारबाही नै नगरी गाडी र सामान छाड्ने गरेका छन् । रिस्क मोलेर बरामद गरेको सामान र गाडी महानिर्देशकले विनाकारबाही छाडेपछि मातहतका कार्यालयका प्रमुखहरु तस्करहरुसँग सामान बरामद होइन, सेटिङ गर्न तल्लीन छन् ।

    देशका ठूला उद्योगी र ब्यवसायीहरुलाई विभिन्न नाममा छापा मार्ने, तर्साउने र ठूलो रकम बार्गेनिङ गर्नमै ढुंगाना ब्यस्त छन् । केही महिनाअघि बिशाल ग्रुपका खातापाता चेक गर्ने र छापा मार्ने कार्य गरेको विभागले ठूलै रकम लेनदेनमा केस सेटलमेन्ट गरेको आरोप छ । मातहतका कार्यालयका प्रमुखहरु विभिन्न शक्तिकेन्द्रमार्फत् सरुवा भएकाले उनीहरुमार्फत् लाभ नहुने देखेका महानिर्देशक ढ्ुंगानाले विभागका उनका विश्वासपात्र राजस्व अधिकृत मानप्रसाद विकेलाई केही दिनअघि नेपालगंज पठाएर बिभिन्न ब्यवसायिक फर्ममा छापा हान्न लगाए । केही ब्यापारीका खातापातासमेत जफत गरियो । महानिर्देशक ढुंगानाका दूत विकेले सेटिङमा आउनेको खातापाता फिर्ता दिए । नआउनेको विभागमै ल्याएर छानबिन सुरु गरेका छन् ।

    ६ महिनाअघि एक उपसचिवलाई पोखरा पठाएर विभिन्न नाइट क्लव र ब्यापारीक प्रतिष्ठानमा छापा हानी सेटिङ मिलाएर करोडौं असुली गरी फर्किएका थिए । अधिकृत विक भने भैरहवा भन्सारदेखि राजस्व अनुसन्धान कार्यालयमा तर मार्नेमा पर्दछन् । उनी रोल्पाका हुन् । माओवादी निकट महानिर्देशक ढुंगानाका विके विश्वासपात्र हुन् । उनका बिरुद्ध अख्तियारले अकूत सम्पत्तिमा मुद्दा चलाए पनि विशेष अदालतमा सेटिङ गरी सफाइ पाएपछि उनी राजस्व अनुसन्धानमा सरुवा मिलाएर करोडौं करोड कमाउन तल्लीन छन् ।

    ६० किलो सुन बरामद गरेर जीवन चलाउनेदेखि वाल्डो क्यासिनोका संचालकले नयाँबजारमा लुकाएको सयौं किलो सुन गायब गराउने समय दिएका ढुंगाना पछिल्लो समयमा कमाउधन्दामा लागेका हुन् ।  राजनीतिक शक्तिकेन्द्रको आडमा सरुवा भएका मातहतका कार्यालय प्रमुखहरु पनि उनकै पथमा लागेका छन् ।

    बिभाग अन्तर्गतका ४ वटै कार्यालय प्रमुखहरुले आफ्नो कार्यक्षेत्रका उद्योगी-ब्यापारीहरुलाई अकारण दुःख दिने नियतका साथ कम्तीमा पनि ३ लाख रुपैयाँ प्रत्येकसँग माग गरेपछि ब्यवसायीहरु आतंकित छन् । आर्थिक मन्दीको मारमा परेका ब्यापारीलाई राजस्वले थप आहत पार्ने काम गरेको गुनासो छ ।

    राजस्व अनुसन्धान विभाग राजस्व चुहावट र भन्सारछली नियन्त्रणका लागि स्थापना भएको हो । तर विभागमा पछिल्ला दिनमा राजनीतिक हस्तक्षेपले सीमा नाघेको छ । महानिर्देशक र निर्देशकहरु मातहतका कार्यालयका प्रमुख राजनीतिक भागबण्डाका आधारमा सरुवा हुने प्रचलनले राजस्व चुहावट नियन्त्रण गर्ने भन्दा पनि कसरी हुन्छ आर्थिक उपार्जन गर्ने माध्यम बनाइएको छ ।

    राजस्व अनुसन्धान विभागमा कर्मचारी खटनपटन सत्ता गठबन्धनको भागबण्डामा हुने गरेको छ । महानिर्देशक ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पीए र घर पनि कास्कीको एउटै गाउँ भएकाले उनी माओवादी निकट भएको कुरामा आशंका गरिरहनुपरेन ।

    मातहतका कार्यालय प्रमुखहरु इटहरीका खेमराज ओझा कांग्रेसका क्याडर जस्तै मानिन्छन् । पथलैयाका देवकोटा पनि आफूलाई सक्कली कांग्रेसका रुपमा चिनाउँछन् । बुटवलका पुरी नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीका श्रीमान हुन् । झाँक्रीले प्रधानमन्त्री प्रचण्डसँग धाएरै उनलाई बुटवल राजस्वको प्रमुख बनाएकी हुन् । कोहलपुरका खनाल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका खास सहयोगी हुन् । शर्माले उनलाई दोहोर्याएर इटहरी राजस्वको प्रमुखमा पठाउन प्रधानमन्त्री प्रचण्डलाई भने पनि एक कार्यकाल काम गरिसकेकाले कोहलपुरमा पठाइदिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार