Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तस्करले गराए रसुवा नाका ठप्प, अख्तियारले समेत छानबिन थाल्यो


    बिहिबार, पुष २६ २०८०
    3.4K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । रसुवा भन्सार कार्यालय १० दिनदेखि ठप्प छ । तस्करी गर्न नपाएपछि तीन क्यारिङवालाले भन्सार नै बन्द गराएका छन् । रसुवा भन्सार प्रमुख रामप्रसाद पाठकसँग सेटिङ गरी तस्करी गर्दैआएको सूचनापछि विभागले अनुगमनलाई तीब्रता दिएपछि उनीहरुले भन्सार ठप्प गराएका हुन् ।

    रसुवा भन्सार कार्यालयबाट तस्करी गर्न नपाएपछि बुद्धराज बस्नेत, इश्वर गुभाजु र अरुण थापाले सबै क्यारिङवालालाई भन्सार नछुटाउन उर्दी जारी गरेका छन् । बस्नेत र थापाले डा. प्रकाशशरण महत अर्थमन्त्री भएपछि रसुवा भन्सारबाट भन्सारछलीका सामान छुटाउनका लागि टेण्डर नै लिएका छन् ।

    अर्थमन्त्री महतका भान्जा नाता पर्ने अरुण थापासँग मिलेर बुद्धराज बस्नेतले रसुवा भन्सारबाट आउने तस्करीका गाडी छुटाउने ठेक्का लिएका छन् । प्रतिकन्टेनर दररेट तोकेर बस्नेत र थापाले भन्न्सार छुटाउने गरेको बिषयमा नेपालफेसले यसअघि नै उजागर गरेको थियो ।

    भन्सार विभागको अनुगमन टोलीले बुद्धराज बस्नेत, अरुण थापा र इश्वर गुभाजुले सेटिङ गरेका कन्टेनर अनुगमन गर्ने क्रममा भन्सारछली गरेको भेटिएपछि उनीहरुले रसुवा नाकाबाट सामान आयात नै ठप्प पारेका छन् । रसुवा भन्सारमा चीनतिर सयौं कन्टेनर सामान भन्सार जाँचपासका लागि लाइनमा छन् । तर बस्नेत र गुभाजुले सामान नछुटाउन दिएको धम्कीका कारण क्यारिङवालाले सामान छुटाउन सकेका छैनन् । भन्सार छली नगरी सामान छुटाउन चाहने ब्यापारी समेत बस्नेत, थापा र गुभाजुका कारण मारमा परेका छन् ।

    रसुवा भन्सार कार्यालयले १० पुस, २०८० मा छाडेका ८ वटा मालवाहक ट्रकमध्ये ६ वटा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । २ वटा कन्टेनर भने भन्सार यार्डबाट निकालिएको थिएन । ती दुई गाडी इश्वर गुभाजुका थिए । ती भन्सार यार्डबाट ननिकालिएका गाडीको पनि रिचेक हुने भएपछि गुभाजु क्रुद्ध भई बस्नेत र थापासँग मिलेर भन्सार ठप्प पारेका हुन् ।

    गुभाजु सिन्धुपाल्चोकका माओवादी सांसद माधव सापकोटा ‘सुबोध’का ब्यापारीक पार्टनर हुन् । बुद्धराज बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतका भाइ नाता पर्दछन् । उनी २०७३ माओवादीमा प्रवेश गरेका थिए । २०७९ को निर्वाचनअघि पुनः कांग्रेसमा फर्किएका बस्नेत र अरुण थापाले महत अर्थमन्त्री भएपछि तातोपानी भन्सारमा तस्करीका सामान बोकेका ट्रक छुटाउने ठेक्का लिएका छन् ।

    प्रतिकन्टेनर २ लाखका दरले उनीहरुले भन्सारछलीका सामान छुटाउने ठेक्का लिएको स्रोतले बताएको छ । बुद्धराज बस्नेतले छुटाएका गाडी राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि उनी समेत आक्रोशित भएका हुन् । गुभाजु र बस्नेतका सामान नियन्त्रणमा लिएपछि भन्सार नाकाबाट कुनै पनि सामान नछुटाउन उनीहरुले क्यारिङवालालाई धम्की दिएका छन् । जसका कारण रसुवा भन्सार नाका १० दिनदेखि ठप्प छ ।

    तस्करीका सामान भित्र्याउन नपाएपछि केही ब्यक्तिले रसुवा भन्सारबाट सामान नै आउन १० दिनदेखि रोकिरहेको बारेमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने–‘रोकून्, कति दिन रोक्दारहेछन् हेरौं न । भन्सार विभागले भन्सारछलीका सामान कुनै हालतमा भित्रन दिंदैन । रसुवाबाट नआए अरु नाकाबाट आइहाल्छ नि ।’

    उता भन्सार विभागले अनुगमनमा पठाएका भन्सार अधिकृत सन्तोष न्यौपाने र नायबसुब्बा सरोज दाहालले रसुवा भन्सारमा रिचेक गर्ने क्रममा ब्यापारीसँग मिलेमतो गर्न खोजेका थिए । कुरा नमिलेपछि उनीहरुले एक थोक सामान ल्याएकोमा अर्कैथोक भनेर जरिवाना नै बढी लाउनेगरी ब्यापारीलाई दुःख दिने काम गरेको आरोप न्यौपाने र दाहालमाथि लागेको छ ।

    सत्तारुढ दल नेपाली कांग्रेस निकट बुद्धराज बस्नेत, अरुण थापा र माओवादी निकट गुभाजुसमेत तीन क्यारिङवालाको धम्कीका सामु गलेरै अरुले सामान भन्सार नगरेको बिषय गम्भीर छ । अर्थमन्त्री महत एकातिर देशको अर्थतन्त्र श्रीलंका हुनबाट बचाउँछु भन्दै भाषण गर्छन्, अर्कोतिर रसुवा भन्सारमा तस्करी गर्न नपाएको भनेर नाका नै ठप्प पार्ने काम उनी निकट ब्यापारीले गरिरहेका छन् ।

    अर्थमन् त्री डा. महतकी पत्नी बिना महतले लेनादेनाका आधारमा रसुवा भन्सारको प्रमुखमा पठाएका रामप्रसाद पाठकले एकातिर विभागलाई ब्यापारीहरु सामान भन्सार गर्न तयार नै नभएको रिपोर्टिङ गरिरहेका छन् भने अर्कातिर सामान भन्सार नगरेर तपाईहरुले विभागलाई गलाउनुपर्छ भन्दै ब्यापारीसँगै लोली मिलाएका छन् ।

    बिदा लिएर काठमाडौं पुगिसकेका पाठक सोही दिन इश्वर गुभाजु र बुद्धराज बस्नेतको सामान यार्डमै खोलेर मिलाइदिएको, प्रतिकन्टेनर ५० हजारका दरले असुलउपर गरेको, क्यारिङवालासँग मिलेर अर्थमन्त्रीलाई पैसा बुझाउनुपर्छ भन्दै उठाइरहेको बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरमा ल्याएको स्रोतको दाबी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार