Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामाजिक सञ्जाल मार्फत अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा


    बिहिबार, असोज २९ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । नक्कली फेसबुक पेज बनाई अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप विगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्ति विरुद्ध मुद्दा चलाइएको छ । 

    प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको व्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । 

    उनले ख्यातीप्राप्त महिला कलाकारको फोटोको स्वरुप विगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो । हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अश्लिल गतिविधि सञ्चालन गरेको पाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले जानकारी दिए । 

    उनी विरुद्ध अछामको ढकारी गाउँपालिकाले नामको अनधिकृत पेज बनाई गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुन अनुसार कारवाहीका लागि व्यूरोमा पत्राचारसमेत गरेको थियो । सोही निवेदनको आधारमा उनीमाथि व्यूरोले अनुसन्धान थालेको थियो । उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले हदैसम्मको सजाय मागदावी लिई जिल्ला सरकारी वकीलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको व्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    यसैबीच व्यूरोले बाल अश्लिलता फैलाउने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने  प्रविण ढकाल विरुद्ध समेत मुद्दा चलाइएको जनाएको छ । सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अश्लिल श्रव्यदृश्य पठाइ हैरानी पारेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले विद्युतीय कारोबार ऐन अन्तरगतको कसुर गरेकाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको अर्यालले बताए।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार