काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि युरोपेली संघ (ईयू) का राजदूत नोना देप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल र ईयूका राष्ट्रहरुबीचको द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको गृहनमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।
भेटमा गृहमन्त्री थापाले नेपालका लागि राजदूतमा नियुक्त भएकोमा देप्रेजलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। थापाले उनको कार्यकालमा नेपाल-इयू सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले राजदूतसँगको भेटमा नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन पनि आग्रह गरेका छन्। पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै मन्त्री थापाले नेपालको हवाई क्षेत्रमा ईयूले लगाएको प्रतिबन्ध हटाउन राजदूत देप्रेजसँग आग्रह गरेको भट्टराईले जानकारी दिए।
गृहमन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवअधिकार र विपद् व्यवस्थापन लागयतका क्षेत्रमा ईयूले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास जनाए।
भेटमा राजदूत देप्रेजले नेपाल र इयुका राष्ट्रहरुबीच ऐतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेल्ने बताइन्।
उनले नेपाललाई इयुले दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।
नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिवन्ध प्राविधिक विषय भएको बताउँदै त्यसबारे ईयूको प्राविधिक समितिले अध्ययन गरिरहेको जानकारी दिइन्। यसबारे छिट्टै निष्कर्षमा पुग्ने आश्वासन पनि राजदूत देप्रेजले दिएकी छन्।
भेटमा उनले नेपालको संघीयताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालेका कदमका सम्बन्धमा गृहमन्त्री थापासँग जिज्ञासा राखेकी थिइन्।