लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ ।
लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवर्द्धित आयोजनामा कार्यरत २७ कर्मचारीमा मङ्गलबार साँझ एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि आयोजनाको निर्माण बन्द गरिएको हो ।
आयोजनामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाका राजेन्द्र वस्तीले बताए ।
आयोजनाको अधिकांश निर्माण सम्पन्न भई विद्युत्गृहको काम बाँकी छ ।
हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मङ्सिरदेखि बिजुली बाल्ने तयारी भए पनि कोभिड- १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले जनाएको छ ।
आयोजना विसं २०७१ देखि थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौतानुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समय गत ३० चैतसम्म थियो ।
निर्माण लम्बिँदा लागत ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ । सुरुमा ३ अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख लाग्ने अनुमान आयोजनाले गरेको छ ।
आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७ सय मिटर लामो भूमिगत सुरुङ र त्यत्तिकै लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिनेछ ।
आयोजनामा १२ दशमलव ५ का दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ ।
आयोजनाको बिजुली हिउँदमा ८ र पैसा ४० तथा वर्षायाममा चार र पैसा ८ हुने गरी प्रवर्द्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । रासस