Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • इजरायल गएको २४ दिनमै अस्ताए आनन्द


    सोमबार, असोज २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • जनकपुरधाम। इजरायलमा शनिबार भएको आतंकवादी आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको पुष्टि भएको छ । हमासले इजरायलमा गरेको यस आक्रमणमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका आनन्द साह पनि परेका छन् ।

    साह भदौ २६ गते अर्थात् २६ दिन अगाडी मात्रै इजरायल कृषि तालिमका लागि पुगेका थिए । इजरायल पुगेको २४ दिनमै उनको मृत्यु भएपछि यस खबरसँगै परिवारमा बज्रपात परेको छ । घरमा आमा–बुवा र बहिनीहरू अचेत छन् ।

    लक्ष्मीनियाँ गापा ४ का वडाध्यक्ष रमेश साहका अनुसार हमलाको एक दिन अगाडी शुक्रबार २५ वर्षीय आनन्दले आफ्नो बहिनीसँग फोनमा कुरा गरेका थिए । आनन्दका बुवा सोमन साह किसान छन् । खेत गएका कारण बुवा र आमाको छोरासँग कुरा भएन ।

    बहिनीलाई आनन्दले फोनमा ‘म यहाँ ठिक छु, तिमीहरू राम्रोसँग बस्नु’ भनेका थिए– वडाध्यक्ष साहले बने ।

    उक्त आतंकी हमलाको खबर पाएपछि आनन्दसँग फोनमा सम्पर्क गर्न उनका दिदीले कैयन प्रयास गरिन् । तर मोबाइलमा रिङ्ग जान्छ, रिसिभ हुँदैनन् । फोन रिसिभ नभएपछि उनलाई घटनाको शंका लागिसकेको थियो ।

    तर सरकारले हिजो साँझ १० नेपालीको मृत्यु भएको सूची जारी गरेपछि मात्र आनन्दको मृत्युको पुष्टि भयो । वडाध्यक्ष साह भन्छन्- आनन्दको मृत्युको खबरले हामी मर्माहत छौँ । सपहीबासी शोकमा डुबेका छन् । उनका आमा–बुवा बेहोस छन् । घरमा चुलो बलेको छैन । सबै भोक भोकै छन् ।

    परिवारमा तीन छोरी र एक छोरामध्ये आनन्द एक्लो तथा पहिलो छोरा थिए । आनन्दलाई पढाउन उनका बुवाले १० वर्ष खाडीमा पसिना बगाए । छिमेकी काका मिथिलेश साहका अनुसार आनन्दले जनकपुरकै एन्जल्स बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका थिए ।

    जनकपुरकै मिट कलेजमा विज्ञान विषय लिएर प्लस–टु पास गरी सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिपल क्याम्पस, कैलालीमा एग्रिकल्चरमा बीएससीएजी पढे । अन्तिम वर्षको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो ।

    मृतक आनन्दका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै सपहीबासी जनकपुर–ढल्केबर सडक अवरुद्ध पारेका छन् ।

    सडकमा टायर बाल्दै स्थानीय युवाहरू सडक अवरुद्ध पारेका हुन् । उनीहरू सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार