Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हमास आक्रमण: इजरायलमा कार्यरत ७ जना नेपालीको मृत्यु


    आइतबार, असोज २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । इजरायलमा हिजो शनिबार भएको आतंकवादी हमलामा परेर ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको ज्यान गएको हो।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै बताए । ‘७ जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ । अरु थप विवरण आएको छैन । हामी अहिले घटनास्थलमा जाने प्रयासमा रहेका छौँ’, आइतबार दिउँसो ओलीले भने ।

    उनका अनुसार उक्त घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् ।

    नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको बताइन् ।

    शनिबार घाइते भएका उनीहरुमध्ये केही आफूहरुको सम्पर्कमा आएर गोली लागेको बताएपनि अहिले भने कुनै सम्पर्क नभएकाले यसै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । त्यहाँ धेरै मानिस हताहत रहेकाले अवस्था भयावह रहेको भन्दै उनले अहिलेसम्म उद्दार हुन नसकेको बताइन् ।

    उनका अनुसार घाइते ३ जना अस्तालमा भर्ना भएकामा एक जना चाहिँ डिस्चार्ज भएका छन् । यस्तै दुई जना अहिलेसम्म बंकरभित्रै सकुसल रहेका छन् । उनीहरुलाई आइतबार कार्यरत कम्पनीले खानेकुरा लगेर दिएको जानकारी आएको रिजालको भनाइ छ ।

    नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो । हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार