Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खालिस्तानीको हत्या प्रकरण: विवाद चर्किदा भारत र क्यानडाले निकाले एक-अर्काका कूटनीतिज्ञ


    मंगलबार, असोज २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • नयाँ दिल्ली । भारतसँगको विवाद बढ्दै गएपछि क्यानडाले भारतका एक शीर्ष कूटनीतिज्ञलाई देश निकाला गरेसँगै भारतले पनि क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । उनलाई भारत छोड्न पाँच दिनको समय दिइएको छ । क्यानडा र भारतबीचको विवाद बढ्दै गएपछि यी दुबै देशले एक-अर्काका एक-एक जना कूटनीतिज्ञलाई देश निकाला गरेका हुन् ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ । सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको छ ।

    यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नतामा भारत सरकारको बढ्दो चिन्तालाई प्रतिबिम्बित गर्दछ।’

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा खटपट भएको हो।

    गत असारमा खलिस्तानी टाइगर फोर्स प्रमुख निज्जारको गोली हानी हत्या गरिएको थियो। गुरद्वाराबाहिर गोली हानी हत्या गरिएका निज्जारलाई भारतले सन् २०२० मा आतंककारी घोषणा गरेको थियो।

    सो विषयमा सोमबार संसदमा बोल्दै प्रधानमन्त्री ट्रुडोले निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताउँदै एउटा क्यानडेली नागरिकको हत्या सह्य नहुने दाबी गरेका थिए।

    त्यसपछि क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको थियो।

    त्यसको जवाफमा भारतीय विदेश मन्त्रालयले क्यानडाका प्रधानमन्त्रीको आरोप तथ्यहीन भएको बताएको थियो।

    आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेपछि बदलामा भारतले पनि आज मंगलबार एक जना क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न चेतावनी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार