Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवन निकुञ्जमा बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइयो


    बिहिबार, भाद्र २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडाैं। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएका कारण बाघलाई सुरक्षित बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो । एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो ।

    मङ्गलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो । अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको उनले जानकारी दिए । यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो । राख्ने ठाउँ नभएकै कारण उक्त बाघ बर्दिया पठाइएको हो ।

    अर्को अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ । कच्ची भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त छैन । सानो भएकाले तत्कालका लागि सो खोरमा राखिएको उनले जानकारी दिए ।

    यो बाघ केही समयदेखि नवलपरासीको अमलटारीस्थित बस्ती क्षेत्रमा आएर बस्ने गरेको थियो । हाल कसरामा सानोसहित चार बाघ छन् । तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो ।

    सो भाले बाघ अन्दाजी १० वर्षको छ । गत वर्ष चितवनकै माडीमा आक्रमण गरी मान्छे मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्को देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

    तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा खोरमा दुई बाघ रहेका छन् । तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त भाले बाघ अन्दाजी चार वर्षको हो । अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

    तिवारीले अहिले चितवनमा छ बाघ खोरमा रहेको बताए । निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँको अभाव भएको उनले जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार