Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेश: हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्ने तयारी, सर्वोच्चको पत्र कुर्दै प्रदेश प्रमुख


    शुक्रबार, भाद्र २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर। बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएसँगै उक्त प्रदेशमा आजै (शुक्रबार) नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी छ ।

    यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा २०७९ पुस २४ गते नियुक्त भएका कार्की १७४ दिनमा बिदा भएका थिए ।

    यस्तै सर्वोच्चले हिजो बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

    अदालतको पत्र प्राप्त हुनसाथ मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ‘सर्वोच्चको फैसलाको पत्र प्राप्त भएको छैन,’ प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले भने, ‘फैसला आउनसाथ प्रदेश प्रमुख परशुराम खापुङले आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।’

    सर्वोच्चले यसअघिका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई बदर गरिदिएको थियो । थापा पदमुक्त भएसँगै संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

    एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुखको कार्यालयबाट अहिलेसम्म कुनै जानकारी नआएको बताए । उनी एमाले मोरङको पार्टी कार्यालयमा प्रदेश प्रमुखको कार्यालयको पत्र कुरेर बसिरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार